१९ जेष्ठ , विरदटनगर ।स्थापनाकाल देखि नै सामाजिक सेवामा सक्रिय रहदै आएको राउण्ड टेबल नेपालले मोरङको रंगेलीमा विद्यार्थीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
राउण्ड टेबल नेपाल अन्र्तगत विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ को आयोजनामा रंगेली स्थित श्री महर्षि मेही प्राथमिक विद्यालयका १ सय ५० जना विद्यार्थीको निःशुल्क रुपमा आँखा र कानको स्वास्थ्य परीक्षण गरिएको संस्थाका अध्यक्ष डाक्टर ललित अग्रवालले जानकारी दिए ।
शिविरमा विराटनगर आँखा अस्पतालका चिकित्सकहरुको प्राविधिक सहयोग रहेको अग्रवालले बताए । विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ले विगत ३ वर्षदेखि आफ्नो वार्षिक लक्ष्य अनुरुप स्वास्थ्य शिविरको आयोजना गर्दै आएको अग्रवालले जानकारी दिए ।
स्वास्थ्य शिविरमा विद्यार्थीहरुलाई चकलेट, मिठाईसहित दिवा खाजाको समेत व्यवस्था गरिएको थियो । शिविरमा परीक्षणका क्रममा आवश्यकताका आधारमा चस्मा तथा औषधि समेत निःशुल्क रुपमा वितरण गरिएको थियो ।