Nepal Times
Nepal Times
3
Shares

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन

६ असार, विराटनगर । पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि भएपछि देशका विभिन्न स्थानमा यसको विरोध सुरु भएको छ । विराटनगर, रुपन्देही लगायतका ठाउँमा विरोध प्रदर्शन भएको छ ।

मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै बुटवलमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । उनीहरुले केहीबेर गाडीको अवागमन समेत रोकेका प्रहरीले जनाएको छ ।

यस्तै, यातायात व्यवसायीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विराटनगरमा चक्काजाम गरेका छन् ।

सरकारले गएरातिदेखि लागू हुने गरी मूल्य बढाएपछि यसको चौतर्फी विरोध भएको छ । भाउ घटाएर नागरिकलाई राहत दिन दबाब बढेको छ ।

सामाजिक सञ्जालमा मूल्यवृद्धिको विरोध गर्दै इन्धनमा भारी वृद्धि हुँदा गाडीभाडादेखि बजार मूल्यसम्म आकाशिने भएकाले यसतर्फ ध्यान दिन सबैले सरकारलाई आग्रह गरेका छन् ।

आयल निगमले डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएको हो ।

यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ ।

हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.