एजेन्सी,भदौ ५
एसियाडको तेस्रो दिनसम्म आइपुग्दा २२ वटा देशले पदकमा नाम लेखाएका छन् । प्रतियोगिता चीनले सुरुवातदेखि नै अग्रता कायम राखेको छ । चीनले मंगलबारसम्म ५६ पदक जितिसकेको छ । जसमा २७ स्वर्ण १७ रजत र १२ कास्य जितेको छ । ११ स्वर्ण, १५ रजत र १७ कास्य जितेका जापान दोस्रो स्थानमा रहँदा ६ स्वर्ण र १२ रजत र १३ कास्यसहित दक्षिण कोरिया तेस्रो स्थानमा छ ।
चौथो स्थानमा आयोजक इण्डोनेशिया रहेको छ । १२ वटा पदक जितेको इन्डोनेसियाले ५ स्वर्ण र २ रजत र ५ कास्य पदक जितेको छ । पाँचौ स्थानमा इरान रहेकोछ । उसले ४ स्वर्ण ३ रजत र ३ कास्य पदक जितेको छ । ४५ देश सहभागी एसियाडमा अहिलेसम्म १६ वटा देशले मात्रै स्वर्ण जितेका छन् ।
एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दो खेल इन्डोनेसियाको जकार्तामा जारी १८ औं एसियाली खेलकुदमा भने कमजोर सावित भइरहेको छ । तेक्वान्दोको तेस्रो दिन सकिँदा नेपाल पदकविहीन छ । तेस्रो दिन नेपालबाट एक पुरुष र दुई महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमा एक खेलाडीले मात्र पहिलो चरण पार गर्न सफल हुँदा दुई खेलाडी पहिलो चरणमै रोकिएका छन । अब बुधबार नेपालका दुई पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
भुपेन्द्र श्रेष्ठले पुरुष ८० केजीमुनि तथा वीरबहादुर महराले ६३ केजीमुनि तौलसमूहमा खेल्नेछन् । यसअघि एसियाली खेलकुदमा नेपालले १ रजत र २२ कांस्य पदक जितेको थियो ।