१८ कात्तिक, एजेन्सी ।
सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आजदेखि सयौं कर्मचारीहरूलाई कामबाट निकाल्ने भएका छन्। ट्विटरका कर्मचारीहरूलाई गरिएको आन्तरिक इमेललाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार ठूलो संख्यामा कर्मचारी निकाल्ने प्रक्रिया मस्कले शुक्रबारदेखि थाल्ने भएका हुन्।
आफ्ना कर्मचारीहरूलाई इमेलमार्फत शुक्रबार बिहान ९ बजेसम्म कर्मचारीहरूलाई कम्पनीबाट निकालिएको छ वा छैन भन्ने जानकारी दिने जनाएको छ। “ट्विटरलाई ट्र्याकमा ल्याउने प्रयासमा, हामी शुक्रबार हाम्रो विश्वव्यापी कार्यबल घटाउने कठिन प्रक्रियाबाट जान्छौं,“ रोयटर्सले देखेको इमेलमा भनिएको छ।
ट्विटरले आफ्ना कार्यालयहरू अस्थायी रूपमा बन्द हुने बताएको छ। इमेलमा भनिएको छ , प्रत्येक कर्मचारीको सुरक्षा साथै ट्विटर प्रणाली र ग्राहक डेटा सुनिश्चित गर्न सबै कर्मचारीको पहुँच निलम्बन गरिनेछ।“ ट्विटरमा अहिले ७ हजार ५ सयभन्दा बढी कर्मचारी छन्। मस्कले आधा कर्मचारीलाई कामबाट निकाल्न सक्ने जनाइएको छ।
शुक्रबारदेखि कर्मचारीहरूलाई ट्विटरले इमेल गर्न थाल्नेछ। काम जारी राख्न पाउने कर्मचारीको अफिसियल इमेल ठेगानामा र जागिर छोड्नु पर्ने कर्मचारीलाई व्यक्तिगत खातामा इमेल आउने बताइएको छ। ट्विटरले आफ्ना कर्मचारीहरूले कार्यालयहरू केही समयका लागि बन्द हुने र कर्मचारीहरूले पाउने पहुँच पनि रोकिने बताएको छ।
यतिमात्रै होइन, ट्विटरले बिहीबार इमेलमा भनेको छ, ‘यदि तपाई अफिसमा हुनुहुन्छ वा अफिस जाँदै हुनुहुन्छ भने कृपया घर फर्कनुहोस्। ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले मालिक बनेसँगै सिइओसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका थिए।
ट्विटरको खर्च कटौती गर्न उनले कर्मचारी हटाउन लागेका हुन्। खर्च कटौती गर्ने, निलो टिकबापत् मासिक ८ डलर शुल्क लिने र ट्विटरबाट किनमेललगायत दैनिक जीवनका धेरै काम गर्न सकिने सुपर एप बनाउने मस्कको योजना छ। ट्विटरको सिईओको जिम्मेवारी अहिले मस्क आफैले लिएका छन् ।