२१ कात्तिक, एजेन्सी ।
संयुक्त राष्ट्र संघको प्रतिवेदनले विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सम्झौता कार्यान्वयन नहुँदा चरम जलवायु संकटमा फस्ने स्थिति देखापरेको औँल्याएको छ । सन् २०१५ मा पेरिसमा भएको जलवायु परिवर्तन शिखर सम्मेलनमा विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्नका निम्ति आवश्यक नीति अबलम्बन गर्ने सम्झौता भएको थियो ।
त्यस सम्झौता पालना नभएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । इजिप्टमा जारी जलवायु परिवर्तन शिखर सम्मेलनमा राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठनले विगतका ८ वर्षमा हरेक वर्ष तापक्रम वृद्धि भएको औँल्याएको द गार्डियनले लेखेको छ । जलवायु परिवर्तनका कारण हिउँ द्रुत रूपमा पग्लिएको र समुन्द्री सतहसमेत ३० वर्ष यताकै दोब्बर रूपमा बढेको प्रतिवेदनमा उल्लेख छ ।
तापक्रम नियन्त्रणका विषयमा गम्भीर नहुँदा पाकिस्तानदेखि पोर्तोरिकोसम्म अनपेक्षित रूपमा गर्मी बढेको प्रतिवेदनमा उल्लेख छ । कोप–२७ सम्मेलनमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन्,‘जलवायु परिवर्तनका सवालमा गम्भीर नबनेमा हामी ठूलो संकटमा हुनेछौँ । विश्व मौसम विज्ञान संगठनले सन् २०२२ मा विश्व तापमान १.१५ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण गरेको छ ।
कार्बन तथा मिथेन उत्सर्जनलाई नियन्त्रण नगर्ने हो भने विश्वक तापमान २.५ डिग्री सेल्सियस पुग्ने प्रतिवेदनमा उल्लेख छ । कोप २७ अर्थात् संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष देशहरूको महासन्धिको २७ औँ सम्मेलन इजिप्टको पर्यटकीय सहर शर्म–एल–शेखमा जारी छ । मङ्सिर २ गतेसम्म चल्ने सम्मेलनमा झन्डै ३० हजार जना मानिस सहभागी हुनेछन् ।
विकसित देशहरूले हरित गृह ग्यास उत्सर्जन घटाउन दबाब दिइने मुद्दासँगै यो पटक हानी–नोक्सानी सम्बोधन र त्यसका लागि वित्त व्यवस्थापनको विषय मुख्यरूपमा छलफल हुनेछ । कोप २६ मा विकसित देशहरू हानी–नोक्सानी सम्बोधनका लागि आवश्यक पर्ने अलग्गै वित्तीय व्यवस्थापनमा असहत भएपछि त्यो विषय टुङ्गोमा पुग्न सकेको थिएन ।
सम्मेलन सुरु हुनुअघि नै यो विषयलाई कोपको कार्यसूचीमा राख्ने÷नराख्ने विषयमा बहस भएको छ । यो विषयमा विकसित देशहरूले असहमति जनाउँदै आएका छन् भने जलवायुजन्य क्षति बेहोरिरहेका देशहरूले हानी–नोक्सानीलाई मुख्य मुद्दा बनाउन जोड दिइरहेका छन् । कोप २७ मा नेपालले पर्वतीय मुद्दाको नेतृत्व गर्दैछ ।
सम्मेलनमा नेपालबाट महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेतृत्व गर्दै छिन् । कोप सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायत ४० देशका सरकार प्रमुखको सहभागिता हुने निश्चित भएको छ ।