२६ कात्तिक , काठमाण्डौ ।
निर्वाचन आउन ८ दिन बाँकी रहँदा चुनावी अभियानमा व्यस्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यरात ठमेलस्थित एक नाइट क्लबमा पुगे । शुक्रबार राति १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा ओली रातो ज्याकेट र जिन्स पाइान्ट लगाएर देखा परेका थिए ।
उनी त्यहाँ पुग्दा त्यहाँ सयौँ युवाले ‘केपी बा’ को नारा लगाए । युवायुवतीहरुले नेपालको झण्डा फहराएका थिए । स्टेजमा पुगेर सम्बोधन गरेका ओलीले हात हल्लाएर अभिवादन गरे । ओली आफैँले पनि गीत गाए, रमाइलो गरे । उनी केही सहयोगीहरुसहित एलओडी नाइटक्लबमा पुगेका हुन् ।
सोही अवसर पारेर ओलीले एलओडीमै एमालेको चुनावी ‘¥याप’ गीत सार्वजनिक गरे । जसको जानकारी उनले सामाजिक संजालमार्फत पनि गराएका छन् । नेकपा एमाले र अध्यक्ष ओलीको बारेमा तयार पारिएको सो गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो ।
सो गीतमा एमाले सरकारको पालामा भएगरेका विकास निर्माण समेटिएको छ । ‘सहर सहरमा ओली’ गीतमा नागरिकता विधेयकमा ओलीको अडान, अतिक्रमित भूभाग नक्सामा राखेकोलगायतका विषय समेटिएका छन् । युवापुस्ता तथा खासगरि नयाँ भोटर्सलाई आफूतिर तान्न ओलीले यसअघि पनि दमकमा ‘ओली वीथ फस्ट भोटर्स’ कार्यक्रमको आयोजना गरेका थिए ।