८ मंसिर,काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी पार्टी गठन गरेको अन्त्यन्त छोटो समयमा पहिलो प्रयासमा नै अत्यधिक मतका साथ निर्वाचित भएका छन्। ८४३१७ जनाले मतदान गरेको यो क्षेत्रबाट लामिछानेले ४९२६१ भोट प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५०९९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ भोट पाए। लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले भन्दा ३४१६२ भोट बढी पाएका छन्। चितवन–२ मुख्यतः एमालेको प्रभाव क्षेत्र हो।
यहाँबाट २०७० र २०७४ सालमा दुवैपटक कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए। यसपालिको स्थानीय निर्वाचनमा पनि एमालेकै मत धेरै थियो। त्यसैले यहाँ एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान थियो। तर रविको प्रवेशले यहाँको राजनीतिक नक्सा बदलिदियो।
परम्परागत रूपमा एमाले र कांग्रेसलाई मत दिँदै आएका मतदाताहरू नै रवितिर कित्ता सरेपछि उनी बलियो बनेका हुन्। स्थानीय तहको दलहरुको मत अहिले चितवन दुईमा पूर्णरुपमा रविको पक्षमा झरेको छ ।
ठूला दलहरुको गढ रहेको चितवनमा जनसंगठन समेत विस्तार नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले पहिलो प्रयासमै शानदार रुपमा जित हासिल गरेका छन् । रविले लामो समय विभिन्न टेलिभिजनमा ‘सिधा कुरा जनता’ सँग भन्ने कार्यक्रम चलाए।
त्यो कार्यक्रमबाट उनले अनियमितताविरूद्ध आवाज उठाएको, असहायहरूलाई सहयोग गरेको र सामाजिक काममा सक्रिय भएको भनेर धेरै मतदाताले रविको प्रशंसा गरेका थिए। उनका राजनीतिक एजेण्डा पनि जनजिविकामै केन्द्रित रहेका छन् ।
देशको भ्रष्टाचार मात्रै क मगर्ने हो भने नेपालीको जीवनस्तर चाँडै माथि उक्लिने रविले बताउने गरेका छन् । चितवन–२ का मतदाताले रविलाई मनपराउनुको अर्को मुख्य कारण उनी चितवनमा हिरासतमा पर्दाको घटना पनि हो।
२०७६ साउनमा रविकै सहकर्मी पत्रकार शालिग्राम पुडासैनीको मृत्यु प्रकरणमा आत्महत्या दुरूत्साहनको मुद्दामा रविलाई प्रहरीले चितवनमा हिरासतमा राखेको थियो। उनी त्यो बेला नै टिभी कार्यक्रममार्फत् लोकप्रिय थिए। उनको समर्थनमा चितवनमा हरेक दिनजस्तो प्रदर्शन भएको थियो।
रविलाई अन्याय भयो, उनलाई फसाइँदैछ भनेर त्यो बेला नै धेरै चितवनवासी प्रदर्शनमा ओर्लिएका थिए। उनी हिरासतबाट छुट्दा नारायणी नदी किनारमा ठूलो संख्यामा समर्थक भेला भएका थिए। त्यही बेलादेखि रविसँग चितवनवासीको र चितवनसँग रविको साइनो प्रगाढ भएको हो।
जुन प्रगाढता चुनावी प्रचारको अन्तिम दिन त्यही नारायणी किनारमा देखिएको थियो । रविले कुन निर्वाचन क्षेत्रबाट लड्ने भनेर उम्मेदवारी दिने अन्तिम दिनमा मात्रै निर्णय गरेका थिए। तर अन्तिम समयको उनको निर्णयले नेपालको राजनीतिक आकाशमा रविको शानदार रुपमा उदय गराईदिएको छ।