२२ पौष, एजेन्सी ।
बार्सिलोनाले कोपा डेल रे अन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ । बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए । पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे ।
तेस्रो डिभिजन टोलीविरुद्धबीच बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो । अन्स फातीले अतिरिक्त समयमा गोल गरेपछि बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गरेको हो । गत सिजन इंग्ल्याण्डको बर्मिङघम सिटीले रिलिज गरेका ओरियोल सोल्डेभिलाले ह्याट्रिक गरेपछि ला लिगा महारथी बार्सिलोना अप्ठेरोमा परेको थियो ।
बार्सिलोनाका रोनाल्ड अरौजोको सुरुवाती गोलबाट पहिलो हाफमा अग्रता बनाए पनि दोस्रो हाफमा ओरियोलले बराबरी गोल फर्काए । ओस्मान डेम्बेलेले ६६औं मिनेटमा पुनः अग्रता दिलाएका थिए । तर, ७४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी खेल पुनः बराबरीमा ल्याए ।
७७औं मिनेटमा पाहुना टोली बार्सिलोनाका लागि राफिन्हाले गोल गरे । तर, ८६ औं मिनेटमा गोल गरी ओरियोलले ह्याट्रिक पूरा गर्दा खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा फातीले गोल गरेपछि बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ ।
यस्तै अर्को खेलमा मोरक्कोका फरवार्ड युसुफ इन न्यास्रीको ह्याट्रिक मद्दतमा सहज जित हात पार्दै सेभिया स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मोरक्कोका फरवार्ड युसुफ इन न्यास्रीको ह्याट्रिक मद्दतमा सेभियाले तल्लो श्रेणीको लिनारेस डिपोर्टिभोलाई ५–० ले पराजित गर्दै सेभियाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
लिनारेसमा बुधबार राति भएको एकपक्षीय खेलमा न्यास्रीले ३७, ४० र ७४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ६९औं मिनेटमा एरिक लमेलाले गोल गर्दा ५७औं मिनेटमा लुसियानोले आत्मघाती गोल गरेको थियो । यस्तै अर्काे खेलमा एट्लेटिको मड्रिडले रियल ओभिडोलाई २–० ले पराजित गरेको छ ।
एट्लेटिकोको जितमा मार्कस लोरेन्टे र पाब्लो वारिओसले गोल गरे । यस्तै रियल सोसिडाड, रियल मलोर्का, र डिपोर्टिभो अलाभेसले पनि अन्तिम १६ को यात्रा तय गरेका छन् । सोसिडाडले लगरोनेसलाई १–०, रियल मलोर्काले पोन्टेभेड्रालाई अतिरिक्त समयमा २–०, र डिपोर्टिभो अलाभेसले रियल भालाडोलिडलाई १–० ले परािजत गरेको छ ।