२३ पौष, एजेन्सी ।
संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा रिपब्लिकन केभिन मेकार्थी निर्वाचित भएका छन् । १४ पटकको मतदानमा हार बेहोरेका उनी १५औं पटकमा निर्वाचित भएका हुन् । यो अमेरिकाको इतिहासमा १५० वर्ष भन्दा बढी समय यताको लामो गतिरोध हो ।
सभामुख चयनका लागि ४२८ भोट खसेको थियो त्यसमध्ये मेकार्थीले २१६ मत प्राप्त गरे । डेमोक्रेटिक उम्मेदवार हकीम जेफ्रिजले भने २१२ मत प्राप्त गरे । रिपब्लिकन दलको एउटा सानो समूहले यसअघिको निरन्तर प्रयासलाई अवरुद्ध बनाइदिएका थिए ।
तर अन्ततः उक्त प्रस्तावको विपक्षमा रहेका ६ जनाले आफ्नो अडान छाडेका थिए । यसअघि शुक्रवार राति नाटकीय रूपमा एक मत नपुग्दा मेकार्थी सभामुख चुनिन सकेनन् । त्यस बेला संसद्को च्याम्बरभित्र चर्को आरोप प्रत्यारोप देखिएको थियो । राष्ट्रपति बाइडनले नयाँ सभामुखलाई बधाई दिँदै आफू रिपब्लिकनहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
यसअघि रिपब्लिकनहरूले सार्वजनिक रूपमा नै बाइडन, उनको प्रशासन र पारिवारिक व्यवसायका लेनदेनहरूमा छानबिन गर्ने बताएका थिए । तर सभामुख चुनिएको पहिलो दिन ह्वाइट हाउसबाट न्यानो शब्दमा सहकार्यको प्रस्ताव सार्वजनिक भएको छ ।
ह्वाइट हाउसले सार्वजनिक गरेको विज्ञप्तिमा बाइडनले केही समय पहिले मिडटर्म निर्वाचनमार्फत मतदाताहरूले रिपब्लिकनहरूलाई आफूसँग मिलेर काम गर्ने अपेक्षा राखेको बताए । पछिल्लो गतिरोधले संसद्का कतिपय महत्त्वपूर्ण जिम्मेवारी जस्तै समितिहरूको गठन र नयाँ सदस्यहरूको शपथग्रहण प्रभावित बनाएको थियो ।
सभामुखलाई संसद्को बैठकको अजेण्डा तय गर्ने र विधायीकी जिम्मेवारीको सुपरिवेक्षण गर्ने अधिकार हुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिपछिको मर्यादाक्रममा यो पद रहने गरेको छ । यसैबीच केभीन मेकार्थीलाई सभामुख चयन गरिएपछि सदनका डेमोक्र्याट सदस्यहरूले रिपब्लिकन दलभित्रको अतिवादी खेमामा शक्ति पुगेको टिप्पणी गरेका छन् । नवनिर्वाचित सभामुख मेकार्थीले नान्सी पेलोसीलाई प्रतिस्थापन गर्नेछन् ।