२३ पौष,एजेन्सी ।
भारतको उत्तर प्रदेशमा अत्याधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बनेको छ । उच्च चिसोबाट मानिसहरुमा हृदयघातको समस्या देखिएको छ । कानपुरमा एकैदिन हृदयघातका कारण कम्तीमा २५ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ज्यान गुमाउनेहरु सबै उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिममा रहेको कानपुरका बासिन्दा हुन् । लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी कानपुरले निकालेको पछिल्लो विवरण अनुसार बिहीवार अस्पतालको आकस्मिक तथा बहिरङ्ग विभाग (ओपीडी) मा ७ सय २३ जना मुटुका बिरामी आएका थिए ।
तीमध्ये अस्पतालमा ७ जनाको उपचारकै क्रममा ज्यान गएको थियो भने १७ जनालाई अस्पताल आइनपुग्दै मृत घोषणा गरिएको थियो । अस्पतालका डाक्टरले कानपुरमा फैलिएको शीतलहरका कारण अचानक रक्तचापमा वृद्धि भएको र त्यसले हृदयघात निम्त्याएको बताएका छन् ।
कानपुरमा व्यापक शीतलहर रहेको र हृदय रोगबाट पीडित हुनेको सङ्ख्या ह्वात्तै बढेको अस्पतालका निर्देशक विनय कृष्णले बताएका छन् । स्वास्थ्य विज्ञले सबैलाई न्यानोमा रहन र घरभित्रै बस्न सल्लाह समेत दिएका छन् । भारतको उत्तरी राज्यमा केहीदिनदेखि तापक्रम निक्कै घटेको छ ।
यता नेपालमा पनि चिसो र शीतलहरले तराई÷मधेसको जनजीवन प्रभावित बनेको छ । विशेषगरी मध्य तथा पश्चिम तराईमा शीतलहर चलेको छ । तराईमा अझै केही दिन शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको पुस १७ गतेदेखि तराईमा शीतलहर चल्न सुरु भएको थियो ।
आज पनि तराईमा हुस्सु र कुहिरो शीतलहर लागिरहेको छ भने पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैबीच गृह मन्त्रालयले शीतलहर र हिमपात हुने क्षेत्रमा आवश्यक तयारी गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार चिसो, शीतलहर तथा हिमपातबाट नागरिकलाई जोगाउन तथा क्षति हुन नदिन सरकारका तर्फबाट आवश्यक पहल गर्नु भनेर जिल्ला प्रशासनलाई पत्राचार गरिएको छ । यस्तै, मधेस प्रदेश सरकारले शीतलहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि सबै जिल्लामा आठ लाख रुपैयाँका दरले दिने निर्णय समेत गरेको छ ।
मधेस प्रदेश सरकारले आठवटै जिल्लाका विपद् व्यवस्थापन समितिलाई आठ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । यो रकम अपुग भएमा मागको आधारमा मन्त्रालयको निर्णयबाट थप रकम उपलब्ध गराउन सकिनेछ ।