Nepal Times
Nepal Times
675
Shares

ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?

२९ पौष , काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि अब सरकार विस्तारको तयारीमा लागेका छन् । यसैका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पटक पटक छलफलमा जुटेका छन् । संविधानत अनुसार २५ सदस्यीय भन्दा ठूलो मन्त्रिमण्डल बनाउन नमिल्ने भएपछि केहि राज्यमन्त्री थपेर सत्ता साझेदार दलहरुबीच भागबण्डा मिलाउने प्रयास भइरहेको छ ।

सरकारमा सहभागी दलहरुमा मन्त्रीका आकांक्षीको संख्या ठूलो भएकाले व्यवस्थापन गर्न राज्यमन्त्री थपिन सक्ने बताइएको छ । अहिलेसम्म सरकारमा जाने निश्चित भएका दलहरूमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी छन् ।अहिलेसम्म राप्रपा र जसपा सरकारमा सहभागी नभएपनि अब सरकारमा जाने तयारीमा रहेका छन् ।

अहिलेसम्मको छलफलमा एमालेले १०, माओवादीले प्रधानमन्त्रीसहित ६, रास्वपाले ४, राप्रपा २, जसपा १, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई एक एक मन्त्रालय दिने गरि सहमति गर्न लागिएको छ । तर अहिले रास्वपाले ५ र राप्रपाले ३ मन्त्रालय मागिरहेकोले उनीहरुको माग पुरा गर्न एमाले र माओवादीबाट एक एक मन्त्रालय घट्नसक्ने बुझिएको छ ।

मोटामोटी यसमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सहमत भैसकेका छन् ।अहिले एमालेबाट उपप्रधानसहित अर्थमन्त्रीका रूपमा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उपप्रधानसहित गृह मन्त्रलायको जिम्मेवारीसहित सरकारमा छन् ।

त्यस्तै मन्त्रीहरूमा जनमत पार्टीबाट अब्दुल खान र एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राईले मन्त्रीको शपथ लिए पनि उनीहरूलाई अहिलेसम्म मन्त्रालय जिम्मेवारी दिइएको छैन । अब संभवत सोमबार हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा माओवादी केन्द्रले सांसदहरु महिन्द्र राय यादव, रेखा शर्मा र सुदन किरातीलाई मन्त्री बनाउने तयारी गरेको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुसँगको छलफलपछि यी तीन जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले बताएको छ । सत्तारुढ दलहरुबीच माओवादी केन्द्रबाट मन्त्रिपरिषदमा ५ जना रहने समझदारी छ । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् ।

अब माओवादीबाट ३ जनामात्र मन्त्रिपरिषदमा सहभागी हुन पाउँछन् । यस्तै राप्रपाबाट उपप्रधान तथा उर्जामन्त्री बन्दै अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाने भएका छन् । अर्काे सत्तारुढ दल जसपाले भने सरकारमा जाने निर्णय गरिसकेको छैन् । नेकपा एकीकृत समाजवादीसँग एकताको प्रयासमा रहेको जसपा एकताकै कारण सरकारमा जानबाट बन्चित हुने देखिएको छ ।

नेकपा एसले एकताका लागि सरकारमा नजाने शर्त राखेको छ। उनीहरुले एकतालाई टुङग्याउन मोर्चा बनाउने तयारी समेत गरिसकेका छन् । जसपासँग एकता गरे राष्ट्रिय दल बन्ने राष्ट्रिय राजनीतिमा अझ शक्तिका साथ प्रभाव जमाउने योजनामा माधव नेपाल र उपेन्द्र यादव देखिएका छन् । अहिले जसपा राष्ट्रिय दल हो भने नेकपा एस समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउनबाट बन्चित भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.