२ माघ, एजेन्सी ।
भारतबाट डिजलको मूल्य घटेर आएको छ । हरेक १५ दिनमा इन्डियन आयाल कर्पोरेसन (आइओसी) ले नेपाल आयाल निगमलाई पठाउने गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्य अनुसार डिजल प्रतिलिटर ३ रुपैयाँ ७३ पैसाले घटेर आएको निगमले जनाएको छ । यसैगरी निगमका अनुसार पेट्रोलको मूल्य भने केही बढेर आएको छ ।
पेट्रोल लिटरमा २ रुपैयाँ ५१ पैसाले बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ७९ डलरमा बिक्री भइरहेको छ । यस्तै नेपालमा आयात हुने ब्रेन्ट क्रुडको प्रतिलिटर मूल्य ८४ डलर हाराहारीमा किनबेच भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा घटबढ भइरहेको पेट्रोलियम पदार्थको मूल्यका कारण नेपालमा भारतबाट आउने नयाँ मूल्य पनि घटबढ भएर आएको हो ।
यसअघि भारतबाट नयाँ मूल्य आउँदा पेट्रोलमा ६ रुपैयाँ ९० पैसा र डिजलमा १२ रुपैयाँ ३१ पैसाले घटेर आएको थियो । यस्तै हवाई इन्धन भाउ पनि प्रतिलिटर १० रुपैयाँ ६१ पैसाले घटेर आएको थियो । भारतबाट मूल्य घटेर आउँदा पनि आयल निगमले उच्च नाफा राखेर उपभोक्ताहरुलाई महँगोमा पेट्रोलियम पदार्थ बिक्री गरेको भन्दै सरकारको चौतर्फी विरोध भएको थियो ।
दबाबपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । मूल्य घटाएपछि अहिले पेट्रोल प्रतिलिटर १७५ र डिजल १७२ रुपैयाँमा बिक्री भइरहेको छ । निगमले राष्ट्र बैंक र आइओसीलाई अझै १८ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको जनाएको छ ।
यसपटक घटबढ भएर आएको नयाँ मूल्यले निगमलाई कति नाफा हुन्छ भन्ने विषय सोमबार शोक बिदा भएकाले मंगलबार यकिन हुने निगमका एक कर्मचारीले बताएका छन् । डिजलमा मूल्य घटेर आएकाले यो पटक पनि निगम नाफामा जान सक्ने कर्मचारीको प्रक्षेपण छ । डिजलको मूल्य घटेर आएकाले निगमलाई भाउ घटाउन दबाब परेको छ ।