३ माघ, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २३ सदस्यीय मन्त्रिमण्डलका एक सदस् हुन् , भोजपुरका सुदन किराती । ४३ वर्षका किरातीले मंसिरको निर्वाचनमा एमाले नेता तथा प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राईलाई हराएर भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । यसअघि पनि उनी तीनपटक सांसद बनिसकेका छन् ।
२०६४ मा पहिलोपटक सांसद बनेका किराती हाल प्रचण्ड नेतृत्वको सरकारका पनि पहिलो पटक मन्त्री बनेका हुन् । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन्। नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य उनी राजकाजमा अवसर नपाउने नेताको रुपमा चिनिँदै आएका थिए ।
२०३५ सालमा जन्मिएका सुदन बेलायती लाहुरेका सन्तान हुन् । उनी हङकङमा जन्मेर ब्रुनाईमा हुर्किएका हुन् । पछि परिवारसँगै भोजपुर फर्किएर राजनीतिमा क्रियाशील भए । उनले एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए । तर २०५४ सालमा भोजपुर क्याम्पस पढ्न गएको पहिलो दिन नै नेविसंघका कार्यकर्ताले हातपात गरेसँगै उनले अखिल छाडेका थिए ।
त्यसपछि उनी गोपाल किराँती नेतृत्वको खम्बुवान मुक्ति मोर्चामा लागे । खम्बुवानमा लागेर उनी भूमिगत भएका थिए । २०६० मा मुक्ति मोर्चा माओवादीसँग एक भएसँगै सुदन फेरि माओवादी बने । २०६१ सालमा सगरमाथा–जनकपुर क्षेत्रीय ब्युरो सदस्य भएका सुदन त्यही वर्ष सिरहामा पक्राउ परेपछि जेलमा थुनिए। उनी २३ महिनापछि अर्थात् जनआन्दोलनपछि मात्रै छुटे ।
२०६३ मा धनकुटा जिल्ला अध्यक्ष बनेका सुदन त्यही वर्षको ७ महिनापछि किरात राष्ट्रिय मुक्ति मोर्चाको महासचिव भए । २०६९ सालमा सोही मोर्चाको अध्यक्ष बनेका सुदन २०७० मा भोजपुर जिल्ला अध्यक्ष, २०७२ सालमा एमाओवादीको पोलिटब्युरो सदस्य र भोजपुर इन्चार्ज बने।
सुदनले २०६४ सालको संविधानसभा निर्वाचनमा शेरधन राईलाई हराएका थिए। २०७० मा शेरधनसँग हारेका उनी २०७४ मा भोजपुरबाटै संघीय संसदमा निर्वाचित भए । २०७९ मा फेरि शेरधन राईलाई हराएर सांसद बनेका हुन् । अहिले उनले सम्हाल्न आएको मन्त्रालय बेलाबखत विभिन्न कारणले विवादमा तानिँदै आएको छ ।
यस्तोमा मन्त्री बनेका किरातीलाई भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाउनु चुनौतीपूर्ण हुनेछ । भारतसँग संवाद गरी भैरहवा र नेपालगन्जबाट हवाइ प्रवेश विन्दुमा सहमति गराउन उनले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ ।
भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालन गर्न समेत भारतसँग अनुमति लिनुपर्नेछ । यी काममा चलाखी नेतृत्व गर्नसके उनले उड्डयनमन्त्रीको रुपमा महत्वपूर्ण सफलता हात पार्नेछन्।
उनको अर्को चुनौती भनेको कोभिड महामारीको कारण नकारात्मक प्रभाव परेको पर्यटन क्षेत्रलाई उठाउने र सम्बद्ध निजी क्षेत्रसँग समन्वय गरी काम गर्ने हो। पुनरुत्थान हुँदै गएको पर्यटन क्षेत्रमा विदेशी पर्यटक बढाउन उनको महत्वपूर्ण नेतृत्वशैली काममा देखिनुपर्नेछ ।
पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले तीब्र गतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताएका छन् । नेपाल वायुसेवा निगमको सुधार बाघको घोडा चढ्नु जस्तै भएको उनले बताए । देश यतिबेला शोकमा रहेको भन्दै खादा माला अस्वीकार गरेर सहयोगपेटिका राखेका मन्त्री किरातीले नेपालको आकाश सुरक्षित बनाउन पनि आफूले सरोकारवाला निकायसँग तत्काल छलफल गर्ने बताएका छन् ।