६ माघ,काठमाण्डौ ।
लामो समयदेखि एकआपसमा तिक्ततापूर्ण सम्बन्ध निभाइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शीतलनिवासले भलाकुसारीको संयोग जुराइदिएको छ ।
बिहीबारको प्रतिनिधिसभाको बैठकबाट आगामी कार्यकालका लागि सभामुखमा चुनिएका देवराज घिमिरेलाई सभामुखको सपथ ग्रहण गराउने क्रममा सपथसँगै शीतलनिवासमा ओली र नेपाल गफिन पुगेका छन् । सभामुखको सपथ ग्रहण कार्यक्रममा पूर्वप्रधानमन्त्रीको हैसियतमा केपी ओली, माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराईलगायतका अन्य विशिष्ट व्यक्तिको उपस्थिति थियो।

सपथ ग्रहण कार्यक्रम चल्दै गर्दा तिक्ततापूर्ण सम्बन्ध रहेका दुई पूर्वप्रधानमन्त्री केपी ओली र माधव नेपालबीच भएको भलाकुसारीले धेरैको ध्यान खिचेको छ। माधव नेपालले आफ्नै पार्टीको नेतृत्वको सरकार ढाल्न खेलेको भूमिकादेखि एमाले विभाजनसम्म गरेपछि ओली र नेपालबीच पानीबारबारको स्थिति उत्पन्न भएको थियो।
पछिल्लो समय मात्रै माधव नेपालले संसददेखि बाहिरको सार्वजनिक कार्यक्रममा समेत ओलीप्रति कडा कटाक्ष गरेका थिए । यसअघि पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सपथ ग्रहण समारोहमा पनि ओली र नेपालबीच संयोगले शितलनिवासमा नै औपचारिक रुपमा सीमित कुराकानी भएको थियो।
शुक्रबार पनि सभामुखको सपथ ग्रहण कार्यक्रममा संयोगले एकै ठाउँ बस्न पुगेका ओली र नेपालबीच केहीबेर कुराकानी भएको देखिएको छ । आफ्नै छेउमा नेपाल परेपछि ओलीले ठट्टा गरेको पूर्वप्रधानमन्त्री भट्टराईले बताएका छन् ।‘सँगै परेपछि ओलीजीले ओहो, हामी फेरि सँगै परिएछ भनेर ठट्टा गर्नुभयो। एकछिन हाँसीमजाक भयो,’ भट्टराईले पत्रकारमाझ भनेका छन् । यस्ता कार्यक्रममा भेट हुँदा विगतको तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको निकट नेताहरुले बताएका छन्।

यसअघि एमालेले माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरेको र यसका लागि एमालेसँग पार्टी एकताको सर्त राखेको खबरहरु बाहिरिएका थिए । त्यससमयमा एमाले नेता महेश वस्नेत लगायतले पनि नेता नेपाललाई भेट गरी पार्टी एकताको प्रस्ताव गरेको बताएका थिए ।
तर पार्टी बैठकमा माधव नेपालले एमालेसँगको एकता राष्ट्रपति बन्ने विषयमा कुनै सत्यता नरहेको बताएका थिए । अहिले नेकपा एसले जसपासँग पार्टी एकताको प्रक्रिया अघि बढाएको छ । तर अब हुने राष्ट्रपतिको चुनावका लागि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति गरिने बताउनु र एमालेले आफ्नो दावी गर्नुले कहि न कतै राष्ट्रपतिको पद माधव नेपालको पोल्टामा पो पुग्ने हो कि भन्ने विश्लेषण समेत हुँदै आएको छ ।
