राष्ट्रपति निर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन/राति १२ बजेपछि मौन अवधि सुरु

राष्ट्रपति निर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन/राति १२ बजेपछि मौन अवधि सुरु

२२ फागुन, काठमाण्डौ ।
राष्ट्रपति निर्वाचनको लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । यसअनुसार आज राती १२ बजेदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध हुनेछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन सुरु हुनुभन्दा ४८ घन्टा यताबाट प्रचार प्रसारमा रोक लगाइएको छ ।

यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यवस्थाबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ।’

आयोगले कुनै पनि माध्यमबाट मत माग्न र प्रचार प्रसार नगर्न आग्रह गर्दै मत माग्नका लागि एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग नगर्न समेत भनेको छ । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न÷गराउन सम्बन्धित सबैलाई आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगको २०७९ माघ १६ गतेको निर्णय अनुसार यही फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ । आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहितासमेत जारी गरेको छ । राष्ट्रपतिको निर्वाचनका लागि ८ दलीय गठबन्धनबाट कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ चुनावी प्रतिस्पर्धामा छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.