विराटनगर,भदौ १९
एसीसी एसिया कप छनोटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित हुँदै लिग चरणबाटै बाहिरिएको छ ।नेपालले प्रस्तुत गरेको ९६ रनको लक्ष्य हङकङले ७ विकेट गुमाउँदै ३३ औं ओभरमा पूरा गरेको हो ।
युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले खराब ब्याटिङ प्रदर्शन गर्यो । नेपालले ३७ ओभर ५ बलमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाउन सक्यो । नेपालका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक रन बनाए । अनिल कुमार साह र बसन्त रेग्मीले समान १५ रन बनाए । पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेन ।
हङकङका इसान खानले ४ विकेट लिए । तनविर अफजल र मोहम्मद अजिज खानले समान २ सवकेट लिए । इसन नवाज र नदिम अहमेदले समान १ विकेट लिए ।हङकङका लागि अंशुमन रथले अर्धशतक प्रहार गरे । उनले ८२ बलमा ३ चौका र १ छक्कासहित ५२ रन प्रहार गरे । किञ्चित शाहले ११ रनको योगदान दिए । जेम्स कार्टर ८, बाबर हायात २ र निजाकत खान २ रनमा आउट भएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ५ तथा सागर पुन र वसन्त रेग्मीले १–१ विकेट लिए ।
यस पराजयसँगै नेपालले एसिया कप छनोटको यात्रा लिग चरणमै टुंग्याएको छ । नेपालले खेलेका पाँच मध्ये मलेसिया र सिंगापुरलाई मात्र हराउन सक्यो ।