२५ वैशाख, काठमाण्डौ ।
प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर बिरोध जनाउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको शुरुमै बोल्नका लागि हात उठाएका सांसद सिंहले बोल्न समय पाएका थिएनन् । सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएका थिए ।
तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलि बिरोध जनाएका थिए । त्यससँगै संसदमा अन्य दलका सांसदहरुले समेत बोल्न पाउनुपर्ने माग गरेका थिए ।
तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गरेभने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरेका थिए । अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उनले दिएका थिए । यससँगै सभामुखले शुन्य समयको कार्यक्रम सुरु गरेका थिए ।
प्रतिनिधिसभाको नियमावलीको नियम २१ मा संसदमा हुने छलफलमा भाग लिने सदस्यले पालन गर्नु पर्ने नियम सम्बन्धी व्यवस्था छ । सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नु पर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नु पर्ने, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने भनिएको छ ।
तर, सांसद सिंहले सभामुखले अनुमति नदिएपछि विरोधका रुपमा लुगा खोलेका हुन् । संसदमा अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने संसदीय मर्यादा छ ।
सभामुखको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्ने अधिकार राख्दछन् । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर जानु पर्नेछ र त्यस बैठकमा सांसद बाँकी अवधिको बैठकमा उपस्थित हुन नपाउने व्यवस्था छ ।
सभामुखको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्ने अधिकार सभामुखमा रहने व्यवस्था नियमावलीमा छ । बैठकबाट निष्काशित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । सभामुख देवराज घिमिरेले कारबाहीकै चेतावनी दिएपछि सांसद सिंह सर्ट लगाएर आफ्नो सिटमा बसेका थिए ।