२७ वैशाख, एजेन्सी ।
पाकिस्तानमा सेनाले पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ परेपछि त्यहाँ प्रदर्शन चर्किएको छ । खानका समर्थकहरूले देशव्यापी प्रदर्शनको आह्वान गरेका छन् । पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् । पूर्वप्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो ।
भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका बेला पक्राउ परेका हुन् । पूर्व प्रधानमन्त्री खानविरुद्ध अन्य थुप्रै मुद्दा चलिरहेका छन् । यद्यपि आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले प्रेरित भएको भन्दै पूर्व प्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आएका छन् ।
उनको पक्राउको खबर फैलिएपछि भीड सैनिक कमान्डरको घरभित्र प्रवेश गरेको थियो । खानका समर्थक र सुरक्षा फौजबीच भिडन्त चलिरहँदा देशभर मोबाइल सेवा अवरुद्ध छ । उनको दल पीटीआईका कार्यकर्ताले विभिन्न ठाउँमा प्रदर्शन र तोडफोड गरेका छन् । इस्लामाबादमा प्रदर्शनले उग्र रूप लिएको छ ।
पीटीआईका कार्यकर्ताहरूले रावलपिँडीस्थित सेनाको मुख्यालय बाहिर पुगेर तोडफोड गरेका छन् । पाकिस्तानी सञ्चारमाध्यमहरूमा प्रकाशित विवरणहरूका अनुसार पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा लिएर भ्रष्टाचारका मुद्दाहरूबारे अनुसन्धान गर्ने न्याशनल एकाउन्टिबिलिटी ब्यूरो एनएबीमा पठाइएको छ ।
विवरणहरूका अनुसार खान अर्को मुद्दाको धरौटी बुझाउन अदालत पुग्नुअघि नै एनएबी टोली त्यहाँ पुगेको थियो । गत वर्ष जुनमा पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) सत्तामा आएपछि पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीले एक घर जग्गा व्यवसायीको ५० अर्ब रुपैयाँलाई कानुनी मान्यता दिएको बदलामा अर्बौँ रुपैयाँ बराबरको जग्गा अधिग्रहण गरेको बताइन्छ ।
यस सम्बन्धमा आन्तरिक मामिला मन्त्री राना सनाउल्लाहले पत्रकार सम्मेलनमा पीटीआई सरकारमा छँदा ब्रिटिश न्याशनल क्राइम एजेन्सीले त्यो पैसा व्यवसायी मलिक रियाजमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान पछि फिर्ता गरेको र लगत्तै खानले उनीबाट अधिग्रहण गरेको जग्गा फर्काएको आरोप लगाएका थिए।
यसै सम्बन्धमा व्यवसायी रियाजले आफ्नो अन्य अवैध मुद्दालाई ढाक्नको लागि अल कादिर विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराएको सरकारको आरोप छ । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इमरान खानले सत्ता गुमाएपछि पाकिस्तानी सेनालाई बदनाम गर्ने नीति अपनाएको आरोप लगाएका छन् । गत वर्ष खान सत्ताच्युत भएका थिए।
त्यसयता उनले मध्यावधि निर्वाचन गरिनुपर्ने भन्दै अभियान चलाउँदै आएका छन् । गत नोभेम्बर महिनामा एउटा ¥यालीको क्रममा इमरान खानमाथि गोली प्रहार गरिएको थियो। घटनामा उनी बाँच्न सफल भएका थिए । इमरान खानले विगतका असफल प्रयासपछि पनि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको र पाकिस्तानमा जङ्गली राज चलेको आरोप लगाउँदै आएका थिए ।