३१ वैशाख, एजेन्सी ।
अमेरिकी समाचार एजेन्सी सीएनएनले सार्वजनिक गरेको घुम्नैपर्ने ठाउँको सूची–२०२३ मा नेपालको मुस्ताङ यात्रा सूचीमा परेको छ । सीएनएनले घुम्नुपर्ने ठाउँको सूचीको पहिलो नम्बरमा पोल्याण्डलाई राखेको छ । मुस्ताङ सूचीको १६औँ नम्बरमा छ । मुस्ताङ दक्षिण एसियामा घुम्नै पर्ने ठाउँ मध्ये एक मात्र ठाउँको रूपमा उल्लेख गरिएको छ ।
यसैगरी सीएनएनको सूचीमा पश्चिम अस्ट्रेलिया, लिभरपुल, चार्लेस्टोन, भिलिनियस, फिजी, मनाउ, लाओसलगायतका ठाउँ रहेका छन् । सन् २०१६ यता सीएनएनले मुस्ताङलाई विशेष पर्यटकीय क्षेत्रका रूपमा उल्लेख गर्दै आएको छ । नेपालको मुस्ताङ उपत्यका तिब्बतको ढोकामा अवस्थित छ ।
हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो ट्रेलहरू मध्ये एउटा मुस्ताङसमेत रहेको जनाउँदै सिएनएनले हिमाली पदयात्राका लागि प्रसिद्ध स्थानको रूपमा उल्लेख गरेको छ । तल्लो मुस्ताङको जोमसोमको सानो सहरको माथि रहेको छ , यहाँ सबैखाले उपलब्ध रिसोर्टहरु रहेका छन् ।
लक्जरी खोज्नेहरू देखी परम्परागत तिब्बती घरहरूबाट प्रेरित २९ सुइटहरूसमेत रहेका रिर्सोटहरु रहेका छन् । पदयात्राका अतिरिक्त, मुस्ताङमा पर्यटकहरूले पुरातन गाउँहरू र बौद्ध गुम्बाहरू हेर्न सक्छन् । साथै छुटाउन नहुने अर्को कुरा भनेको मानव निर्मित गुफाहरू रहेका छन्, जहाँ २,००० वर्ष पुरानो बौद्ध मूर्तिकला र चित्रहरू देखिन पाइनेछ ।
मुस्ताङ उपत्यका पुग्नु आफैमा साहसिक कार्यको एक हिस्सा पनि हो । यात्रुहरूले राजधानी काठमाडौँबाट पोखराको लागि २५ मिनेटको उडान र त्यसपछि अर्को विमानमा चढेर २० मिनेटको जोमसोमको यात्रा गर्नुपर्नेछ।
काठमाडौँबाट १२ घण्टाको ड्राइभ गरेर पुग्न सकिन्छ । हवाई यात्रा भन्दा पनि वैकल्पिक यात्राको क्रममा देखिने दृश्यहरूले थप मनमोहक बनाउन सक्छ । सीएनएनले हरेक वर्ष विश्वका उत्कृष्ट २२ ठाउँको सूची सार्वजनिक गर्दै आएको छ ।