२२ असार, विराटनगर ।
मोरंग कारागारमा रहेका कैदीबन्दीहरुका लागि निःशुल्क स्वास्थ शिविर आयोजना गरिएको छ । लाइफ लङ पोली क्लिनिकको समन्वयमा मोरंग कारागार आन्तरिक प्रशासनले शिविर आयोजना गरेको हो । विहीबार सम्पन्न सो स्वास्थ शिविरमा कारागारमा रहेका ४ सय कैदीबन्दीहरुलाई निःशुल्क स्वास्थउपचार तथा औषधि वितरण गरिएको छ ।
शिविरमा लाइफ लङ पोली क्लिनिकका आधा दर्जनबढी विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ परीक्षण गरेको थियो । छाला, नाक, कान, घाँटी, आँखा, हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरुले विरामी कैदीबन्दीहरुको स्वास्थ परीक्षण गरेका थिए ।
कारागारमा आयोजना भएको विशेषज्ञसहितको निःशुल्क स्वास्थ शिविरबाट आफूहरुलाई निकै लाभ मिलेको कैदीबन्दीहरुले बताएका छन् । मोरंग कारागारमा रहेका कैदीबन्दीहरु छाला, हाडजोर्नी, आँखा लगायतमा हुने स्वास्थ्य समस्याबाट पीडित छन् । कारागारको आन्तरिक प्रशासनले कैदीबन्दीहरुको मानसिक तथा शारीरिक स्वास्थका लागि नियमितरुमा यस्ता शिविरहरु संचालन गर्दै आएको छ ।
आगामी दिनमा पनि यस्ता खाले स्वास्थ शिविर संचालन गरिने मोरंग कारागारको आन्तरिक प्रशासनले बताएको छ । कैदीबन्दीहरुको स्वास्थ्य संवेदनशीलतालाई प्राथमिकतामा राखेर विभिन्न निकायहरुसँगको समन्वयमा यस्ता प्रकारका स्वास्थ्य शिविरहरु नियमित रुपमा नै संचालन गरिदै आएको कारागार आन्तरिक प्रशासनले जनाएको छ ।