१६ भदौ, एजेन्सी ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल राननाले रमाट हशारोनलाई ४–० को फराकिलो अन्तरले हराएको छ । यो खेलका चार वटै गोल सावित्रा एक्लैले गरिन् ।
हापोएल रानानाका लागि खेलेकी सावित्राले ह्याट्रिकसहित चार गोल गरेकी हुन् । सावित्राले सिजनको पहिलो लिग खेलमै सानदार प्रदर्शन गरेपछि उनको चर्चा बढेको छ । उनी प्लेअर अफ म्याच पनि बनिन् । सावित्रा नेपालबाट युरोपेली लिग खेल्ने पहिलो महिला खेलाडीका रुपमा गएको महिना इजरायल गएकी थिइन् ।
सावित्राले यसअघि एथेना कप खेलेकी थिइन् । तर उनी सम्मिलित हापोएल रानाना सेमिफाइनलबाटै बाहिरिएको थियो । एसिया महादेशमा पर्ने भएपनि इजरायलको क्लबले युरोपपियन फुटबल महासंघ युइएफएमा आबद्ध भएर क्लब फुटबल खेल्दै आएको छ ।
दक्षिण एसियामा नेपालसहित भारत र माल्दिभ्सको लिग खेलिसकेकी सावित्राले पहिलो पटक युरोपियन स्तरको फुटबल खेलिरहेकी छन् । भारतीय महिला लिगमा गोकुलम केरालाको लागि उत्कृष्ट प्रदर्शन गरेकी सावित्राको लागि युरोपियन लिगमा बाटो खुलेको थियो । उनले गोकलुमबाट उपाधि सहित सर्वाधिक गोलकर्ताको अवार्ड समेत जितेकी थिइन् ।