२५ भदौ, काठमाण्डौ ।
नामको विषयलाई लिएर विवादीत बनेको झरना थापा निर्देशित चलचित्र ‘एक भगवत् गीता’ को शीर्षक परिवर्तन गरेर प्रदर्शन गर्ने सहमति जुटेको छ । आइतबार चलचित्र विकास बोर्डमा भएको छलफलमा विश्व हिन्दु महासङ्घ, शिव सेना नेपाल, विश्व हिन्दु युवा सङ्घ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालले नयाँ नाम ‘एक भगवत् र एक गीता (सामाजिक कथा) नाममा चलचित्र प्रदर्शन गर्दा आपत्ति नरहेको जनाएको हो ।
यसअगाडिको नामले सनातन धर्ममाथि चोट पुर्याएको भन्दै प्रदर्शन रोक्न माग गरी जागरण नेपालले बोर्डमा निवेदन दिएपछि जाँच पास रोकिएको थियो । सहमति जुटेसँगै जाँचपासको प्रक्रियासमेत अगाडि बढेको छ । दुई पक्षबीचमा देखिएको विवादलाई मिलाउन बोर्डले अभिभावकीय भूमिका निर्वाह गरेको अध्यक्ष भुवन केसीले बताए ।
बोर्ड अध्यक्ष केसीले भनेका छन् ’हामीले जाँचपासका लागि सिफारिस रोकेका थिएनौँ । सहमति जुटाउने प्रयास मात्र गरेका हौँ । सहमति नभएको भए भोलि ठूलो दुर्घटना पनि हुन सक्थ्यो’, । निर्माता सुनिलकुमार थापाले चलचित्र परिवर्तित नामसँगै घोषित मिति २९ भदौदेखि प्रदर्शन हुने जानकारी दिएका छन् ।
उनले भन्ने, ’सबैको भावनाको कदर गर्दै नाम परिवर्तन गरेर प्रदर्शन गर्दैछौँ । चलचित्रले कुनै धर्म वा समुदायलाई ठेस पु¥याएको छैन ।’ झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रको प्रर्दशन मिति नजिकिदै जादा चलचित्र विवादमा परेर प्रर्दशनको अनुमति नपाएपछि निर्देशक झरना थापाले वर्षाैको लगानी रहेको चलचित्र रोकिदा आफू मर्नु न बाँच्नुको अवस्थामा रहेको भन्दै सामाजिक संजालमा दुःख पोखेकी थिइन।