३१ भदौ, काठमाण्डौ ।
काठमाडौंको गैरीगाउँमा शुक्रबार राति चार जनाको हत्या एकै व्यक्तिले गरेको निष्कर्षमा प्रहरी पुगेको छ । हत्यामा संलग्न रहेको अभियोगमा आज विहान पक्राउ परेका व्यक्तिले नै चारै जनाको हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको हो । उनलाई सीसीटीभी फुटेजमा देखिएको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनीसँग थप सोधपुछको काम भइरहेकाले पूरा विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । उनी आवाजविहीन भएकाले दोभाषेको सहयोगमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ । गैरीगाउँको दिव्य समिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो ।
उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्यामा प्रयोग भएको हतियार यसअघि नै प्रहरीले बरामद गरिसकेको थियो । घटना बारे जानकारी दिन प्रहरी कार्यालय पुगेका मोरङका दीपेन्द्र राईलाई प्रहरीले नियन्णमा लिएर सोधपुछ गरेको हो । तर उनको संलग्नता नखुलेको प्रहरीको भनाई छ । उनी पनि शरीरमा रगत लागेको अवस्थामा प्रहरी कार्यालय पुगेका थिए । मृत भेटिएका अन्दाजी २० वर्षीय नविन राई भने त्यहाँको कामदार नभएको पाइएको छ ।