९ कर्तिक, एजेन्सी ।
नेपालमा आफ्नै नेतृत्वमा सरकार रहदासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेला बेला सडकमा लाखौं मान्छे उतार्ने भनेका कारण ट्रोल बनिरहँदा आइसल्यान्डकी प्रधानमन्त्री भने काम ठप्प पारेर स्वयं हड्तालमा उत्रेकी छिन् । प्रधानमन्त्री क्याटरिन जाकब्सडटिर हड्तालमा उत्रेपछि अहिले यो चर्चाको विषय बनेको छ ।
विश्वको इतिहासमै सम्भवतः पहिलोपटक होला जब कुनै देशको प्रधानमन्त्री नै हड्तालमा उत्रिएकीे छन् । युरोपको सानो देशको रुपमा रहेको आइसल्यान्डकी प्रधानमन्त्री क्याटरिन जाकब्सडटिरसमेत हजारौँ महिला एक दिनका लागि हड्तालमा उत्रेका हुन् । मुलुकमा महिलाको तलबमा असमानता र लैङ्गिकतामा आधारित हिंसाको विरोध गर्दै उनीहरू हड्तालमा उत्रेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री क्याटरिनसहित हजारौंको सङ्ख्यामा महिलाहरू २४ अक्टुबरका दिन ‘वुमन्स डे अफ’ मा थिए । उनीहरूले एकदिन काम नगरेर विरोध जनाएका हुन् । आइसल्यान्डमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने अधिकांश महिलाहरू असमान तलब र लैङ्गिकतामा आधारित हिंसाका कारण प्रभावित छन् ।
उनीहरूले घरको कामदेखि अन्य सबै प्रकारको काम नगर्ने भन्दै विरोध जनाएका हुन् । हड्तालमा सहभागी भएकी आइसल्यान्डकी प्रधानमन्त्री क्याटरिनले भनिन्, ‘म आज काम गर्दिन र मलाई आशा छ की क्याबिनेटमा रहेका सबै महिलाले यसलाई समर्थन गर्दै उहाहरूले पनि यस्तै गर्नुहुनेछ।’
आइसल्यान्डको टीचर्स यूनियनका अनुसार शिक्षा क्षेत्रमा हरेक स्तरमा महिलाको सङ्ख्या बढी छ । जसमा ९४ प्रतिशत किन्डरगार्टेनमा काम गर्छन्। त्यस्तै स्वास्थ्य क्षेत्रमा पनि महिलाको सङ्ख्या नै बढी छ।
आइसल्यान्डको सबैभन्दा ठूलो अस्पताल नेशनल यूनिभर्सिटी हस्पिटलमा काम गर्ने कर्मचारीमध्ये ८० प्रतिशत महिला छन् । बीबीसीका अनुसार हड्ताल आयोजक क्रिस्टिनले आइसल्यान्डमा लैङ्गिकतामा समानता बढेपनि लैङ्गिकतामा आधारित हिंसाका घटना महिलाविरुद्ध हुने ठूलो समस्या रहेको बताइन् ।