९ कार्तिक,एजेन्सी ।
चीनले देशभक्ति शिक्षालाई बढावा दिइरहेको छ । त्यसका लागि चीनको सरकारले देशभक्ति शिक्षा कानून नै पारित गरेको छ । यो कानूनले चिनियाँ युवाहरूका जीवनका सबै पक्षहरूमा राष्ट्रिय एकता, देशभक्ति र कम्युनिष्ट पार्टीप्रति वफादारी जगाउने लक्ष्य राखेको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाका अनुसार यो कानूनले विद्यालय र कलेजहरूमा देशभक्तिसँग सम्बन्धित कुराहरू सिकाउने कानूनी सुनिश्चितता प्रदान गर्दछ । चीनका राष्ट्रपति सी चिनफिङका अनुसार कतिपयले देशभक्ति बिर्सदै गएका छन्, यो कानूनले सबै विद्यार्थी र युवाहरुलाई सचेत बनाउने उनको भनाइ छ ।यो कानून जनवरी १, २०२४ देखि लागू हुनेछ ।
ऐतिहासिक शून्यवाद जस्ता चुनौतीको सामना गर्न यो कानून आवश्यक भएको चीन सरकारको भनाइ छ । चीनमा जब मानिसहरूले कम्युनिष्ट पार्टीप्रतिको विश्वास गुमाउन थाल्छन् वा पार्टीको क्षमतामाथि शंका गर्न थाल्छन्, त्यसलाई ऐतिहासिक शून्यवाद भनिन्छ ।
सरकारले देशभक्तिको जगेर्ना गर्दै कानून तर्कसंगत, समावेशी र खुला विचारको भएको बताएको छ । यसले देशलाई विश्वसँग जोड्न र अन्य सभ्यताहरूलाई अँगाल्नुपर्ने आवश्यकतालाई जोड दिन्छ ।