१२ कार्तिक,एजेन्सी ।
पाकिस्तानमा जस्तै बंगलादेशमा पनि प्रमुख प्रतिपक्षी दलका नेतालाई त्यहाँको सरकारले आम चुनावअघि प्रहरी हिरासतमा पुर्याएको छ । बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) का नेता मिर्जा फखरुल इस्लाम आलमगिर आइतबार बिहान पक्राउ परेका हुन् ।
तीन महिनापछि हुन लागेको निर्वाचनअघि प्रधानमन्त्रीविरुद्ध आयोजित विशाल विरोध प्रदर्शनको एक दिनपछि आलमगिर पक्राउ परेको उनको दल बीएनपीले जानकारी दिएको छ । ’मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रशासनका अधिकारीहरूले पक्राउ गरेका छन्,’ बीएनपीले विज्ञप्ति जारी गर्दै भनेको छ ।
अस्ट्रेलियामा रहेकी आलमगिरकी छोरी शमारुह मिर्जाले एएफपीलाई भनिन्, ’उहाँलाई प्रहरीले हिरासतमा राखेको छ ।’ ढाका मेट्रोपोलिटन प्रहरीका प्रवक्ता फारुक हुसेनले उनको गिरफ्तारीबारे आफूलाई जानकारी नभएको बताए । बीएनपीका अध्यक्ष तथा दुईपटक प्रधानमन्त्री बनेकी खालिदा जियालाई पक्राउ गरेर जेल सजाय दिइएपछि र उनका छोरा बेलायतमा निर्वासनमा परेपछि बीएनपीका महासचिव ७५ वर्षीय आलमगिरले पार्टीको नेतृत्व गर्दै आएका छन् ।
सन् २०२० मा १७ वर्षको जेल सजायबाट रिहा भएपछि जिया नजरबन्दमा बस्दै आएकी छन् । प्रदर्शन स्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार बीएनपी र सबैभन्दा ठूलो इस्लामिक पार्टी जमात–ए–इस्लामीले शनिबार गरेको विरोध प्रदर्शन यस वर्षको अहिलेसम्मको सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको बताएका छन् ।
साथै आगामी जनवरीमा हुने आम निर्वाचनभन्दा अघि भएको उक्त विरोध प्रदर्शन नयाँ चरण भएको बताइएको छ । बङ्गलादेशका दुई प्रमुख विपक्षी पार्टीका एक लाखभन्दा धेरै समर्थकले एउटा तटस्थ सरकार मातहत स्वतन्त्र र निष्पक्ष मतदानको अनुमति दिनका लागि प्रधानमन्त्री शेख हसिनालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध प्रदर्शनमा भाग लिएका थिए ।
बङ्गलादेशका संस्थापक नेताकी छोरी हसिना १५ वर्षदेखि सत्तामा छिन् । उनको कार्यकालमा कूल गार्हस्थ्य उत्पादनको मामिलामा बङ्गलादेशमा तीव्र विकास गरे पनि मुद्रास्फीति बढेको छ । उनको सरकारमाथि भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनको आरोप लागेको छ ।
हिंसाको विरोधमा बीएनपी र जमात–ए–इस्लामी दुवै पार्टीले आइतबार देशव्यापी हडतालको आह्वान गरेका छन् । आइतबार राजधानी ढाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ र हजारौँ प्रहरी र अर्धसैनिक सीमा सुरक्षा फौजले बङ्गलादेशको सडकहरूमा गस्ती गरिरहेका छन् ।
यसअघि छिमेकी पाकिस्तानमा पनि सहबाज सरिफ सरकारले विपक्षी नेता एवं पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा राखेको छ । उनीविरुद्ध सरकारी खजाना बेचेको लगायतका विभिन्न आरोप छन् ।