१९ कार्तिक,काठमाण्डौ ।
लोपोन्मुख, फिरन्ते जातीको रूपमा रहेको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ । दैलेखको गुराँस गाउँपालिकाले प्रदान गरेको परिचय पत्रमा ९ भदौ २०१४ जन्ममिति भएका शाहीको आज बिहान ६६ वर्षको उमेरमा शाहीको निधन भएको हो । शाहीको राउटे परम्परा अनुसार अन्तिम दाहसंस्कारसमेत गरिएको छ ।
महामुखिया शाहीकी पत्नी दुनी शाही र दुई बुहारीहरू सुरमान र सुन्दरी शाही रहेका छन् । महामुखिया शाहीका छोरा नारायण शाहीको केही समयअघि आगोमा जलेर निधन भएको थियो । नारायणको काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । त्यसअघि उनका अर्का छोरा शिवराज शाहीको पनि लडेर निधन भएको थियो ।
१ सय ४२ जनाको जनसंख्या रहेको यो समुदायमा महामुखियाको निधन भएसँगै जनसंख्या १४१ मा झरेको छ । फिरन्ते जीवनयापन गर्दै आएका उनीहरूको हाल भैरवी गाउँपालिका–३ छामघाट खोला नजिकै बसोबास छ । उनीहरू पाँच दिन अघिमात्रै बसाइ सरेका थिए ।
राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन् । मध्य–पश्चिमको सल्यान तथा आसपासका जिल्लामा फिरन्ते जीवन बिताउने राउटे जातिले खस भाषा बोल्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् ।
यिनिहरू प्राय जसो बाँदर तथा अन्य जङ्गली जनावरको सिकार गर्ने र कन्दमुल, फलफूल र अन्य वनस्पति खाएर बाच्ने गर्दछन् । विशेष गरेर राउटे जातिले लठ्ठी–लौरो बाजा, मजिरा, मादल र ढ्याङग्रो बाजा प्रयोग गरेको देखिन्छ ।