२२ कार्तिक, काठमाण्डौ ।
मखमली फूलको मालाको माग अत्याधिक भएपनि मूल्य नपाएको किसानहरुको गुनासो छ । गुण्डुका किसानहरुले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका छन् । यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरुको गुनासो छ । एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री गरिसक्न लागेको व्यवसायीहरुले बताए ।
गुण्डुका व्यवसायीहरुले भाईटिकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन् । भत्तपुर सूर्यविनायक नगरपालिका गुण्डुकी राधा थापाले विगतका वर्षको जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताइन । उनले मेहनतअनुसार मखमली मालाको मूल्य भने जस्तो नभएको गुनासो गरिन ।
उनले व्यापार राम्रो भएपनि विगतका वर्ष ३५ रुपैयाँसम्म प्रतिमाला बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपैयाँ भन्दा बढी मूल्य पाउन नसकेको बताइन । उनले मखमली मालाको मूल्य धेरै वर्षदेखि बढ्न नसकेको बताइन । उनले मखमली फूल उत्पादन गरेर माला बेच्दा फूलमा लगाएको लगानी मात्रै उठ्ने स्थिति रहेको बताइन ।
उनले आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक रुपमा ५० हजार भन्दा बढी आम्दानी गर्न सकिने बताइन । उनले बजार मूल्य कम हुँदा विगतका वर्षको भन्दा आम्दानी कम हुने अवस्था रहेको बताइन । गुण्डुकै अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ ।उनले पनि मखमली मालाको माग राम्रो भएपनि मूल्य विगतका वर्षहरुको जस्तो मूल्य नपाएको बताइन ।
उनले विगतका वर्षहरुमा ३० देखि ३५ रुपैयाँसम्म मूल्यमा बिक्री भएकोमा यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रति मालाको मूल्य पाएको बताइन । उनले मखमली फूल उत्पादन नै कम भएकाले व्यापार पनि कम हुने अवस्था रहेको बताइन । उनले गत वर्ष १ लाख रुपैयाँको माला बिक्री भएपनि यो वर्ष ६० हजारसम्म मात्रै मालाको व्यापार हुने बताइन ।