२५ कार्तिक, एजेन्सी ।
श्रीलंकन क्रिकेट बोर्ड (एसएलसी) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले निलम्बन गरेको छ । बोर्डलाई सरकारको हस्तक्षेपपछि आईसीसीले तत्कालका लागि निलम्बन गरेको हो । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन खराब भएपछि खेलकुद मन्त्रालयले क्रिकेट बोर्ड विघठन गरेको थियो ।
आईसीसीको त्रैमासिक बैठक विश्वकपको दौरान आगामी १८ देखि २१ नोभेम्बरसम्म अहमदाबादमा हुने छ । त्यसअघि आईसिसीका अधिकारीहरूले अनलाइन बैठक गर्दै बोर्डलाई निलम्बन गरेका हुन् । आईसीसीले श्रीलंका क्रिकेट बोर्डमा सरकारको अत्याधिक हस्तक्षेप गरेको भन्दै कुनै पनि आईसीसी सदस्यको काममा सरकारी हस्तक्षेप स्विकार नहुने बताएको छ ।
विश्वकपमा श्रीलंका अन्तिम खेलमा न्यूजिल्याण्डसँग ५ विकेटले पराजित भएको थियो । १८ देखि २१ नोभेम्बरसम्म बस्ने बोर्ड बैठकले श्रीलंकन क्रिकेट बोर्डबारे थप निर्णय गर्ने छ । तर, निलम्बनपछि श्रीलंका क्रिकेटमा अहिले कुनै असर पर्ने देखिँदैन । किनभने टोलीले डिसेम्बरसम्म कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्ने कार्यतालिका छैन् ।
तर एसएलसी निलम्बनपछि खेलाडीमा खासै असर नपर्ने भएपनि आईसीसीले श्रीलंका बोर्डको राजस्व रोक्न सक्ने सम्भावना रहेको छ । आगामी आईसीसी कार्यक्रमको आयोजना उनीहरुबाट खोस्न सक्ने जनाइएको छ । पुरुष यू–१९ विश्वकप अर्को वर्षको जनवरी–फेब्रुअरीमा श्रीलंकामा हुने भएको कार्यतालिका रहेको छ ।
श्रीलंकाको निराशाजनक प्रदर्शन पछि श्रीलंकाको खेलकुद मन्त्रालयले सोमबार, ६ नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) बर्खास्त गर्दै अन्तरीम बोर्ड गठन गरेको थियो । खेलकुद मन्त्री रोषन रणसिङ्घेको कार्यालयले एक विज्ञप्ति जारी गर्दै सन् १९९६ को विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
श्रीलंकाको अदालतले पनि बोर्ड विघटन गर्ने निर्णयलाई आगामी १४ दिनका लागि रोक लगाएको थियो ।