२६ मंसिर,एजेन्सी ।
क्रिस्टियानो रोनाल्डोले वर्ष २०२३ मा ५० गोल पूरा गरेका छन् । साउदी अरेबियामा अल नासरका लागि उनले अल सहवाबविरुद्ध गोल गर्दै यो वर्ष आफ्नो ५० औं गोल पूरा गरेका हुन् । रोनाल्डोको गोलसँगै अल नासरले चिरप्रतिद्वन्द्वी अल सहबाबलाई ५–२ ले पराजित गर्दै साउदी किंग्स कपको सेमिफाइनलमा स्थान बनायो ।
उनले अल नासरको लागि ७४ औं मिनेटमा चौंथो गोल गर्दै यो वर्ष ५० गोल पुरा गरे । रोनाल्डोले यो सिजनमा अल नासरका लागि २६ गोल गरे । जसमा १६ गोल उनले साउदी प्रो लिगका १५ खेलमा गरेका छन् । तीन दिनअघिमात्र रोनाल्डोले आफ्नो करिअरको १२ सयौं व्यावसायिक खेल खेल्दा अल रियाद विरुद्ध समेत गोल गरेका थिए ।
उनले उक्त खेलमा एक गोल र एक असिस्ट गर्दै ऐतिहासिक कीर्तिमान बनाएका थिए । यस्तै रोनाल्डो जुनमा दुई सय अन्तर्राष्ट्रिय खेल खेल्ने पनि पहिलो खेलाडी बनेका थिए । उनले पोर्चुगलका लागि कीर्तिमानी १२८ गोल गरेका छन् । यस्तै युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक १८३ खेल खेलेका छन् ।
रोनाल्डोले अहिलेसम्म पाँच फरक क्लबका लागि खेलेका छन् । जसमा उनले पोर्चुगलको स्पोर्टिङका लागि ३१ खेल खेलेका छन् । यस्तै इंग्लयाण्डको म्यानचेष्टर युनाइटेडको लागि ३४६, स्पेनको रियल मड्रिडका लागि ४३८, इटलीको युभेन्ट्सका लागि १३४ र अहिले खेलिरहेको सायदी क्लब अल नासेरका लागि ४७ खेल खेलेका छन् । पोर्चुगलको राष्ट्रिय टिमबाट उनले २०५ खेल खेलिसकेका छन् ।