२२ पुष, काठमाण्डौ ।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा निर्वाचनका लागि ६ जनाको नाम टुंगो लगाएको छ । आइतवार बसेको सत्ता गठबन्धनको बैठकले माओवादीले ६ सिट लिने गरी सहमति गरेको थियो । गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले उम्मेदवारको टुंगो लगाएको हो ।
माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार कोशी प्रदेशबाट चम्मादेवी कार्की, बागमती प्रदेशबाट श्रीकृष्ण अधिकारी र गण्डकीबाट मनरूपा शर्मा उम्मेदवार बन्नेछन् । लुम्बिनीबाट झक्कु सुवेदी, कर्णालीबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिमबाट रेणु चन्द सिफारिश भएका छन् ।
सुवेदी २०६४ सालको संविधानसभा चुनावमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई काठमाडौं २ बाट पराजित गरेर चर्चामा आएका थिए । त्यसयता उनी लगातार चुनाव हार्दै आएका छन् । २०७४ सालमा उनी काठमाडौं ६ बाट वामपन्थी गठबन्धनको उम्मेदवार बने पनि पराजित भएका थिए ।
सुदुरपश्चिमबाट सिफारिश भएकी चन्द २०६४ सालको संविधानसभा निर्वाचनमा बैतडीबाट निर्वाचित भएकी थिइन् । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि भोलि सोमवार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ । १९ सीटको लागि आगामी माघ ११ गते हुने निर्वाचनमा गठबन्धनबाट माओवादीले ६ सिट पाएको थियो ।
राष्ट्रियसभा निर्वाचनको भोलि उम्मेदवारी दर्ता हुँदैछ । गठबन्धनको सिट बाँडफाटमा असन्तुष्ट बनेको नेकपा एस पनि अन्ततः २ सिटमा चित्त बुझाउने भएको छ । आज बसेको सचिवालय बैठकले असन्तुष्टिका बाबजुद गठबन्धनले गरेको भागबन्डाअनुसार चुनाव लड्ने निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् ।
बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले कांग्रेसलाई १०, माओवादीलाई ६, नेकपा एसलाई २ र जसपालाई एक सीट दिने सहमति गरेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभामा २ सिट लिए कुनै मन्त्रालय वा समितिको सभापति थप्ने कांग्रेस र माओवादी केन्द्रबाट प्रस्ताव आएको बैठकमा ब्रिफिङ गरेका छन् ।