२ माघ, एजेन्सी ।
संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार सङ्गठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आगामी एक वर्षे कार्यकालका लागि सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । सङ्गठनको १२ जनवरी २०२४ मा बसेको जनरल काउन्सिलको बैठकले राजदूत सुवेदीलाई निर्वाचित गरेको हो ।
बैठकले नेपालका राजदूतसहित विभिन्न समितिका लागि आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचनका लागि गरेको प्रस्तावमा विश्व व्यापार सङ्गठनका सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए । नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भए पश्चात् उक्त सङ्गठनको टियर १ तहको अध्यक्ष पदमा नेपालका राजदूत निर्वाचित भएको पहिलो अवसर हो ।
विश्व व्यापार सङ्गठनको उच्च पदमा उनी निर्विरोध निर्वाचित भएपछि नेपालको आर्थिक तथा व्यापारिक हित प्रवर्द्धनमा सहज हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्वास लिएको छ । मन्त्रालयले राजदूत सुवेदीलाई सफल कार्यकालका लागि शुभकामना पनि दिएको छ भने मन्त्रालयबाट हुनसक्ने आवश्यक सहकार्य तथा समन्वय गर्ने पनि प्रतिबद्धता जाहेर गरेको छ ।
सीटीडी अध्यक्षको हैसियतमा राजदूत सुवेदीको कार्यकाल एक वर्ष रहनेछ । विश्व व्यापार सङ्गठन मूलतः अन्तर्राष्ट्रिय व्यापारको नियम बनाउने सर्वोच्च निकाय हो । तर, पछिल्ला छलफलहरू अति कम विकसित मुलुक र विकासशील मुलुकका प्राथमिकता, विकास र व्यापारमा केन्द्रित छन् ।