५ माघ, एजेन्सी ।
भारतको गुजरातमा डुंगा डुब्दा १६ जनाको मृत्यु भएको छ । पिकनिक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो । मृतकमध्ये १४ जना विद्यार्थी र दुईजना शिक्षक हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुई दर्जन विद्यार्थी र चारजना शिक्षक पिकनिकमा गएका थिए ।
उद्धार गरिएका एकजना विद्यार्थीको उपचार भइरहेको छ । अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । गुजरात सरकारले घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । समितिले १० दिनभित्र रिपोर्ट पेस गर्नुपर्ने छ । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनामा दुःख व्यक्त गर्दै प्रधानमन्त्री राहत कोषबाट मृतकका परिवारलाई दुई लाख रुपैयाँको दरले दिने घोषणा गरेका छन् ।
घाइते भएकाहरूलाई ५० हजार रुपैयाँ सहयोग गर्ने मोदीको घोषणा छ । मोदीले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा आफ्नो समवेदना रहेको उल्लेख गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि राज्यका मुख्यमन्त्रीसँग कुरा गरेर घटनाबारे जानकारी लिएका छन्।
स्थानीय रिपोर्टका अनुसार डुङ्गा खचाखच भरिएको थियो। ती बालबालिका आफ्ना शिक्षकसँग हरनी ताल पुगेका थिए । रिपोर्टका अनुसार बोटिङ गर्दा बच्चाहरूको सुरक्षा सुनिश्चित गर्न लाइफ ज्याकेटहरू पूर्ण रूपमा फिट गरिएको थिएन। टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार वाघोडियास्थित न्यू सनराइज स्कूलका ८० विद्यार्थी आफ्ना शिक्षकहरूसँग पिकनिकमा गएका थिए।
विद्यार्थी डुङ्गामा २७ जना सवार थिए । बाँकी बालबालिका अन्य मनोरञ्जनात्मक क्रियाकलापमा व्यस्त थिए । बालबालिकालाई वाटरपार्कमा लैजान्छु भनी अभिभावकलाई विद्यालय प्रशासनले पिकनिकका लागि रु ७५० असुलेको तर त्यसको सट्टा तालमा लगिएको अभिभावहरुले बताएका छन् ।