११ माघ,काठमाण्डौ ।
चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् । मालदिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले आज त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गरेकी छन् ।
बङ्गलादेशमा नयाँ मन्त्रीपरिषद् गठन भएपछि चिनियाँ पक्षको यो पहिलो उच्चस्तरीय भ्रमण थियो । त्यसअघि उनले गत सोमवार माल्दिभ्समा पुगेर त्यहाँ राष्ट्रपति मोहम्मद मोइज्जुुसँग भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गरेकी थिइन् ।
ढाकाको भ्रमण सकेर भने उपमन्त्री हेयान नेतृत्वको टोली शुक्रवार ११ः३० नेपाल आइपुग्ने कार्यक्रम रहेकोे छ । नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उपमन्त्री सुनले विभिन्न दलका नेताहरूसँग माघ १४ गते सोल्टी होटेलमा सामूहिक छलफल गर्ने समेत बताइएको छ । टोली चार दिनसम्म नेपाल भ्रमणमा रहने स्रोतको दाबी छ ।
यसैबीच आज सभामुख देवराज घिमिरे र संयुक्त राष्ट्रसंघका उपमहासचिव एवम् निःशस्त्रीकरण मामिला सम्बन्धि राष्ट्रसंघीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुबीच भेटवार्ता भएको छ ।
भेटमा हतियार निःशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका प्रयासहरु, साना र हलुका हतियारसम्बन्धी कार्य योजना, अन्तर्राष्ट्रिय सन्धी अनुमोदन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले संयुक्त राष्ट्रसंघ, निःशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिद्वारा महासभामा गरिएका प्रयासहरू, निःशस्त्रीकरण मामिलाहरूमा संयुक्त राष्ट्रसंघ कार्यालयले गरेका विश्वव्यापी निःशस्त्रीकरण प्रयासहरूको सराहना गरेका छन् ।
सो अवसरमा सभामुख घिमिरेले भने– ‘मलाई विश्वास छ कि एशिया–प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियार सम्बन्धी कार्य योजनासम्बन्धि चौथो समीक्षा सम्मेलनको सफलतामा ठूलो योगदान पुर्याउनेछ,’ सभामुखले भने– ‘यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ ।’
सभामुखले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्र संघसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको हालैको नेपाल भ्रमणले संयुक्त राष्ट्रसंघ र नेपाल दुवैले एकअर्कालाई उच्च महत्व दिएको पुष्टि भएको सभामुखको भनाइ छ ।
सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य राज्यहरूको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तहरूको समर्थन गर्ने बताए ।
भेटमा संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुले नेपालको संसदले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरिन् । जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसदले गृहकार्य गर्ने बताएका छन्।
उपमहासचिव नाकामित्सुले नेपाल विश्व शान्तिका लागि योगदान दिने दोस्रो मुलुक र विश्व शान्तिका लागि महिलाहरुको प्रतिनिधित्व गराउने पहिलो मुलुक रहेको बताउँदै शान्ति स्थापनामा गरेको योगदानको कदर गरेकी छिन् ।