२० फागुन, एजेन्सी ।
नेपाली राष्ट्रिय महिला टिमकी कीर्तिमानी फरवार्ड, स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले फ्रेन्च लिगमा समेत पहिलो गोल गरेकी छन् । साम्बा युरोपेली फुटबलमा आबद्ध भएर गोल गर्ने पहिलो नेपाली महिला खेलाडी हुन् । शनिबार भएको खेलमा सावित्राले क्लबका लागि ‘डेब्यु’ गोल गर्दा एन अभान्ट ग्वेंगाम्प एफसीले लिलविरुद्ध २–० को जित निकालेको छ ।
वैकल्पिक खेलाडीको रूपमा खेलको ८६औँ मिनेटमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी समयमा टिमका लागि गोल गरेकी हुन् । त्यसअघि एन्टोनी स्टारोभाले पेनाल्टीमा गोल गर्दै गेङगाम्प एफसीलाई अग्रतामा राखेकी थिइन् । सहयात्रीले विपक्षीबाट खोसेको बलमा पास पाएकी भण्डारीले काउन्टरमा गोल गरेकी थिइन ।
त्यसैगरी उनले ८८ औं मिनेटमा पनि गोल गर्ने राम्रो अवसर बनाएकी थिइन्, तर त्यो गोलमा परिणत हुन भने सकेन । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन् । जितसँगै १६ खेलबाट १५ अंक जोडेको ग्वेंगाम्प तालिकाको नवौँ स्थानमा उक्लिएको छ ।
समान खेलबाट आठ अंक जोडेको लिल तालिकाको ११औँ स्थानमा छ । सावित्राले भर्खरै साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा राष्ट्रिय टिमको फाइनल खेल गुमाएकी थिइन् । फाइनल छाडेर उनी फ्रान्स फर्किएकी थिइन् । यही खेललाई ध्यानमा राख्दै सावित्राले बिहीबार जोर्डन विरुद्धको फाइनल खेल समेत छाडेकी थिइन् ।
फाइनल नखेलेपनि वाफमा साम्बा सर्वाधिक गोलकर्ता हुन् । उनले नेपालले खेलेका फाइनल बाहेकका हरेक खेलमा गोल गरेकी थिइन । वाफ च्याम्पियनसिपमा नै साम्बाले आफ्नो अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी थिइन ।