Nepal Times
Nepal Times
3
Shares

उपेन्द्रको सत्तारोहण, उपप्रधानमन्त्रीमा चौथो

उपेन्द्रको सत्तारोहण, उपप्रधानमन्त्रीमा चौथो

२७ फागुन, काठमाण्डौ।

पटक पटक मधेसको माग भन्दै संविधान संशोधनका लागि सत्ता साझेदार बन्दै आएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव फेरि स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन्। अघिल्लो पटक पनि स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा आइतबार पुनर्गठन गरिएको मन्त्रिपरिषद्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शपथ लिएका हुन्।

यादवले आइतबार नै कार्यभार सम्हालिसकेका छन्। वर्तमान मन्त्रिपरिषद्मा हालसम्म चार जना उपप्रधानमन्त्री नियुक्त भएका छन्। त्यसमध्ये यादव चौथो वरीयतामा छन्। प्रधानमन्त्री प्रचण्डपछिका उपप्रधानमन्त्रीको वरीयताको सबैभन्दा माथि रघुवीर महासेठ छन्। उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुन्।

त्यस्तै, महासेठपछिको वरीयतामा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन्। उनीपछिको वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका रवि लामिछाने छन्। उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ। लामिछानेपछिको वरीयतामा यादव छन्। यादवले चौथोपटक मन्त्री भएका हुन्। उनी तेस्रोपटक उपप्रधानमन्त्री भएका छन् ।

यादवको सत्तायात्रा २०६५ सालबाट सुरु भएको हो। त्यतिबेला गठित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी परराष्ट्र मन्त्री थिए। सो सरकारमा एक जना वामदेव गौतम मात्रै उपप्रधानमन्त्री थिए। उनले उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। सो मन्त्रिपरिषद्मा गौतमपछिको वरीयतामा डा बाबुराम भट्टराई (अर्थ मन्त्री) थिए।

भट्टराईपछि उपेन्द्र यादव र रामबहादुर थापा थिए। यादव २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा पहिलो पटक उपप्रधानमन्त्री बनेका थिए। सो सरकारमा तीन जना उपप्रधानमन्त्री थिए– भरतमोहन अधिकारी उपप्रधान तथा अर्थ, कृष्णबहादुर महरा उपप्रधान तथा गृह र उपेन्द्र यादव उपप्रधान र परराष्ट्र।

यादवपछि एमालेका विष्णुप्रसाद पौडेल रक्षा मन्त्री थिए। पौडेल भने उपप्रधानमन्त्री बनाइएका थिएनन्।खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेपछि त्यसपछिका सरकारमा उनले सो जिम्मेवारी पनि पाउँदै आएका छन्। २०७५ जेठमा केपी ओली नेतृत्वको सरकारमा उनी उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए।

२०७२ सालमा ओली पहिलो पटक प्रधानमन्त्री बन्दा ६ जना उपप्रधानमन्त्री बनाएका थिए। ओलीले २०७६ मंसिरमा पुनः मन्त्रिपरिषद् पुनर्गठन गरे। यादवको वरीयता यथावत् रहे पनि मन्त्रालय परिवर्तन भयो। उनी अब उपप्रधान तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भए। आइतबार पदभार सम्हाल्दै गर्दा यादवले आफू ग्रास रुटमा बसेर काम गर्ने भएको भन्दै वरीयताको वास्ता नहुने बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.