२९ फागुन ,काठमाण्डौ ।
राष्ट्रिय सभामा अध्यक्ष पदका लागि अहिले निर्वाचन जारी छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान बसेको राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाएको हो । अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सांसद नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावक माओवादीका सांसद गोपीबहादुर सार्की छन् ।
समर्थकमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल, नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसाल र जसपा सांसद मोहम्मद खालिद छन् । नेपाली कांग्रेसका सांसद युवराज शर्माले पनि उम्मेदवारी दर्ता गरेका छन् । शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन् ।
कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिएको छ । उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन् । राष्ट्रिय सभामा १८ सांसदसहित माओवादी सबैभन्दा ठूलो पार्टी छ । एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन् । उम्मेदवार शर्माको समर्थकमा लोसपा सांसद शेखरकुमार सिंह छन् ।
राष्ट्रिय सभामा कांग्रेसका १६ र लोसपाका १ जना सांसद छन् । उम्मेदवारको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने नियमावलीको व्यवस्था छ । राष्ट्रिय सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमत पाउने उम्मेदवार निर्वाचित भएको घोषणा गरिन्छ ।
यस निर्वाचनबाट आउने अध्यक्ष नयाँ संविधानबमोजिमको राष्ट्रिय सभाको दोस्रो अध्यक्ष हुनेछन् । पहिलो अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ६ वर्षे पदावधि यही फागुन २० गते सकिएकाले यो पद रिक्त भएको हो । तिमिल्सिना एमाले सांसद थिए । गठबन्धनमा तलमाथि नभए दाहालले बहुमत पाउने निश्चितजस्तै छ ।
सत्ता गठबन्धनसँग ३९ सांसद छन् । अध्यक्ष जित्न २९ मत चाहिन्छ । सुरुमा कृष्ण सिटौलालाई अध्यक्षमा उठाउने भनेको कांग्रेसले गठबन्धनको गणित उल्टिएपछि युवराज शर्मालाई अघि सारेको हो । माओवादीले पनि सुरुमा हालकै उपाध्यक्ष उर्मिला अर्याल वा नवनिर्वाचित सदस्य झक्कु सुवेदीको नाम चर्चामा ल्याएको थियो ।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको दाबी नछाडेपछि माओवादी गठबन्धन नै तोडेर एमालेसँग मिसिन पुग्यो । एमालेसँग राष्ट्रिय सभा अध्यक्ष आफ्नो भागमा पार्ने गरी सहमति भएपछि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै भाइ नारायण दाहाललाई उम्मेदवारका रूपमा अघि सारेका हुन् । राष्ट्रिय सभाको उपाध्यक्ष भने एमालेले पाउने सहमति भएको छ । आजको निर्वाचनलाई लिएर प्रमुख दलहरुले ह्वीप लगाएका छन् ।