१८ चैत , एजेन्सी ।
मैत्रीपूर्ण सिरिजका लागि पहिलो पटक भारत गएको नेपाली राष्ट्रिय टोलीसँग भारतको स्टेट क्लब निरीह देखिएको छ । तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ ।
साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भयो । गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए ।
सराल प्रजापति १७ रनमा आउट भए । नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए राष्ट्रिय टोलीले भारतमा गएर खेलेको यो पहिलो सिरिज हो ।
नेपाल र बरोडा पर्सि खेल्नेछन् । चैत २१ मा नेपाल र गुजरात तथा चैत २३ मा नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।
बरोडा र गुजरात दुबैले रणजी ट्रफी खेल्ने स्टेट लेभलका खेलाडी घोषणा गरेका छन् । रणजी ट्रफी भारतको चर्चित क्रिकेट प्रतियोगिता हो । त्यसैले खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएपनि गुजरातविरुद्धको पहिलो इनिङमा नेपाल हावी भएको छ ।