३० वैशाख , काठमाण्डौ ।
गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनी बिहीबारआफैँ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा पुगेका हुन् । उनकै श्रीमतीले वैवाहिक बलात्कारको जाहेरी प्रहरीमा दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
ओडकी श्रीमतीले चैत २० मा कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी थिइन् । प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् । उनी अहिले कञ्चनपुर प्रहरीको नियन्त्रणमा छन् ।
प्रहरीले पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । ओडले २०७५ पुस ६ गते नेपाल आइडलको दोस्रो सिजनको उपाधि जितेका थिए ।
ओडको स्थायी ठेगाना गुलरियाको कृष्णपुर नगरपालिका हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वैवाहिक करणी सम्वन्धिको उजुरी इलाका प्रहरी कार्यालय झलारीमा परेको हो। रविले बहुप्रतिप्रथाको कथावस्तुमा बनेको फिल्म ‘द्रौपदी’बाट अभिनय करिअर समेत थालेका छन् ।
नेपाल आइडल सिजन–२ का लागि कैलालीको धनगढी अडिसनमा कमल खत्रीको जाऊँला रेलैमा‘ बोलको गीत गाएर उनले निर्णायकको मन जितेका थिए। रवि ठाडी भाका, देउडा, लोकदोहोरी, पप, हिन्दी, नेपाली सबै खाले गीत गाउन सक्ने प्रतिस्पर्धीका रूपमा नेपाल आइडलमा छाएका थिए।