२९ असार, एजेन्सी ।
नेपाली राष्ट्रिय फुटबल टोलीका अनुभवी खेलाडी रोहित चन्द अझै एक सिजन इन्डोनेसियामा नै बस्ने भएका छन् । इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिक केदिरीसँग सम्झौता नवीकरण गरेसँगै रोहितले व्यवसायिक फुटबलको थप एक सिजन इन्डोनेसियाको शीर्ष डिभिजनमा नै बिताउने भएका हुन् ।
सन् २०१३ मा पहिलो पटक इन्डोनेसिया पुगेका रोहितले बीचमा मलेसियन लिग पनि खेलेका थिए । २०१७ देखि भने उनी लगातार इन्डोनेसियाको लिग खेलिरहेका छन् । उनले २०१७ देखि ५ सिजन पेर्सिजा जकार्तामा बिताए । उनले पेर्सिजाबाट १४९ खेलमा १३ गोल गरे । २०१८ मा लिग उपाधि जितेका रोहित सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।
३२ वर्षिय रोहित २०२२ मा पर्सिजाबाट पेर्सिक पुगेका थिए । गत दुई सिजनमा पेर्सिकले ११औ र नवौं स्थानमा सिजनको अन्त्य गरेको थियो । पछिल्लो दुई सिजनमा उनले पेर्सिकका लागि ५६ खेलमा ३ गोल गरेका छन् । यो सिजनको इन्डोनेसियन लिगा वान अगस्ट दोस्रो हप्तादेखि शुरु हुँदैछ ।
सन् २०१० देखि २०१२ सम्म भारतको आइ लिग क्लब हलबाट खेलेका उनी २०१२ मा इन्डोनेसियन क्लब पेकानबारुमा आबद्ध भएका थिए । नेपाली राष्ट्रिय टोलीमा सन् २००९ डेब्यू गरेका उनले ९२ खेल खेलिसकेका छन् ।