११ साउन , एजेन्सी ।
पृथ्वी क्रमिक रुपमा तातिने क्रम बढ्दै जाने चेतावनीका बीच गत आइतबारलाई पृथ्वीको इतिहासकै सबैभन्दा गर्मी दिनको रुपमा मापन गरिएको छ । कपर्निकल क्लाइमेट चेन्ज सर्भिस (अघक)का अनुसार आइतबार विश्वको औसत तापमान १७.०९ डिग्री सेल्सियस मापन भएको थियो । यसले सन् १९४० देखि अहिलेसम्मका सबै रेकर्ड तोडिदिएको छ ।
भयानक गर्मीका कारण युरो तथा अमेरिकामा तातो लहर अर्थात् हिटवेभ चल्नुका साथै डढेलो फैलिएको छ । गत वर्ष जुलाई ६ का दिन विश्वको औसत तापमान १७.०८ मापन भएको थियो, जसलाई यो वर्षको तापमानले उछिनेको छ । सी थ्री एसका निर्देशक कार्लो बुआटेम्पोका अनुसार यो विश्वव्यापी औसत तापमान हो । हाल गर्मीका कारण विश्वका धेरै देशमा तातो लहर चलिरहेको छ ।
दक्षिण अमेरिका भयानक हिटवेभसँग जुझिरहेको छ भने चीनमा हिटवेभपछि भारी वर्षा तथा बाढीले कहर मच्चाइरहेको छ । जहाँ औसत तापमान ३५ डिग्री मापन गरिएको छ । उत्तरी अफ्रिकामा तापमान ५० डिग्रीसम्म पुगेको छ ।यहाँसम्म कि अन्टार्कटिकामा ठण्डी मौसममा समेत अधिकतम तापमान रेकर्ड भैसकेको छ । अन्टार्कटिकाको अर्जेन्टाइन टापुमा रहेको युक्रेनको वर्नाडस्की रिसर्च बेसमा जुलाईको तापमान ८.७ डिग्री मापन गरिएको छ ।
यो सामान्य भन्दा निकै धेरै हो । मानवीय क्रियाकलापका कारण हरेक वर्ष वायुमण्डलमा ४ हजार करोड टन कार्बनडाइ अक्साइड उत्सर्जन हुने गरेको छ, त्यो पनि जिवाश्म इन्धनको दहनबाट । यसका कारण वायुमण्डल तातिरहेको छ । लण्डनस्थित ब्रिटेन इम्पेरियल कलेजको ग्रान्थम इन्स्टिच्यूट फर क्लाइमेट चेन्ज एण्ड इन्भारोमेन्टका वैज्ञानिक फ्रेडरिक ओट्टोका अनुसार यस्तो अवस्था आउनु दुःखद हो ।
मानिसले प्रकृतिसँग खेलवाड गरिरहेकाले तापमान लगातार बढिरहेको उनको भनाइ छ । उनका अनुसार तापमानको यस्तो वृद्धि मानिस र पारिस्थितिक प्रणालीका लागि मृत्युदण्डको सजायँ भन्दा कम होइन । यो जलवायु परिवर्तनको नतिजा हो । साथै यो वर्ष सामुद्रिक प्रणाली अल निनोको प्रभाव पनि देखिइरहेको छ । हुनत यो वर्षको तापमान वृद्धिमा यी दुबै प्रक्रियाको हात छ ।
तर सबैभन्दा धेरै जिम्मेवार त मानिस नै हो । बर्कले अर्थका वैज्ञानिक जेके हसफादरका अनुसार जति धेरै कार्बन उत्सर्जन हुनेछ, तापक्रम पनि उत्ति नै बढ्ने छ । हरितगृह ग्यास उत्सर्जन र अल निनोले समग्रमा विश्वको तापमानमा वृद्धि गरिरहेको छ । सामान्य रुपमा पृथ्वीको औसत तापमान १२ देखि १७ डिग्री सेल्सियससम्म रहने गर्दछ । तर हाल यसले अधिकतम विन्दु पनि पार गरिसकेको छ ।
वैज्ञानिकहरुका अनुसार पृथ्वीको तापमान जुलाईको अन्त्य तथा अगष्टको सुरुवातमा सबैभन्दा उच्च हुनेछ । तापमानले महिनाको सुरुवातमै रेकर्ड कायम गरिसकेको अवस्थामा जुलाईको अन्त्य वा अगष्टमा तापमानले पुनः रेकर्ड तोड्न सक्दछ । यसबीच संयुक्त राष्ट्रसंघका महासचिवले भने पृथ्वी जोगाउन कम्मर कस्न सबैलाई आह्वान गरेका छन् ।
‘अरबौं मानिसहरुले अत्यन्त गम्भिर गर्मीको सामना गरिरहेका छन् । घातक तातो लहरका कारण अवस्था झन् भयावह भइरहेको छ,’ विहीबार युएन मुख्यालयमा आयोजित पत्रकार भेटघाटमा महासचिव गुटरेसले भने, ‘सन्देश स्पष्ट छ ः गर्मी जारी छ । मानिस र पृथ्वीमा अत्यधिक गर्मीको अत्यन्त गम्भिर प्रभाव परिरहेको छ । बढ्दो तापमानको चुनौती सामना गर्न कम्मर कस्नुपर्ने छ ।’
उनले कम कार्बन उत्सर्जन गर्ने प्रविधि र उपकरणका साथै घर तथा शहरमा वातानाकुलित डिजाइनको प्रयोग बढाउनुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनबाट सिर्जित विपदबाट जोगाउनका लागि बजेट बढाउन पनि आह्वान गरेका छन् । संयुक्त राज्य अमेरिकादेखि अफ्रिकाको साहेल क्षेत्र र युरोपदेखि मध्यपूर्वका देशसम्म गर्मीले रेकर्ड तोडेको छ । विश्वभर बढीरहेको गर्मीको असर सबैलाई समान रुपमा भने परेको छैन ।
शीतलमा बस्ने सुविधाबाट बन्चित गरिब, मजदुर, विस्थापित तथा गर्भवती, बालबालिका, वृद्धवृद्धा, विकलाङ्ग व्यक्तिहरु बढी प्रभावित छन् । उनले दैनिक श्रम गरेर परिवार पाल्नेहरुको सुरक्षामा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को एक नयाँ रिपोर्ट अनुसार विश्वभर शारीरिक श्रम गर्न सक्ने करिब ७० प्रतिशत व्यक्ति अत्यधिक गर्मीको चपेटामा परेका छन् ।
अफ्रिाका र अरब क्षेत्रमा स्थिति अझै संकटपूर्ण छ । त्यहाँ क्रमशः ९० र ८० प्रतिशत जनसंख्याले अत्यधिक गर्मीको सामना गरिरहेका छन् । एसिया र प्रशान्त क्षेत्रमा यो संख्या करिब ७५ प्रतिशत छ । यही क्षेत्रमा विश्वकै सबैभन्दा धेरै जनघनत्व छ । बढ्दो गर्मीबाट विश्व अर्थतन्त्रमा सन् २०३० सम्म २.४ ट्रिलियन डलर नोक्सान हुने अनुमान छ ।
जबकी सन् १९९० को मध्यसम्म करिब २८० अर्ब डलर थियो । यता नेपालमा आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।