१५ साउन, काठमाण्डौ ।
बलिउडका किंग, सुपरस्टार शाहरुख खानको आँखामा समस्या भएको खबर बाहिरिएको छ । उनको आँखामा मोतियाविन्दु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। उनले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर बाहिरिएको छ ।
भारतीय मिडियाका अनुसार, शाहरुखको दुवै आँखामा मोतियाबिन्दु छ । जुलाई १२ मा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि अभिनेताले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पताल र अनुसन्धान केन्द्रमा आफ्नो आँखाको उपचार गराएका थिए ।
तर, त्यहाँ उपचार चाहेजसो हुन सकेन । अब शाहरुख आँखाको उपचारका लागि अमेरिका जानेछन् । यद्यपी, अहिलेसम्म यस विषयमा अभिनेता वा उनको टोलीबाट कुनै औपचारिक पुष्टि भएको छैन । शाहरुख आउँदो अगस्ट ७ र ८ मा स्विजरल्याण्ड जाने चर्चा पनि छ ।
तर, उनी कामका लागि वा व्यक्तिगत कारणले त्यहाँ जाने हुन् भन्ने टुंगो लागेको छैन । शाहरुख हालै उनकी आमाको निधन भएपछि साथी निर्देशक फराहलाई भेट्न गएका थिए । जतिबेला शाहरुखकी पत्नी गौरी खान र छोरी सुहाना पनि थिइन् ।
शाहरुखको पछिल्लोफिल्म ‘डंकी’ गत वर्ष डिसेम्बरमा रिलिज भएको थियो। हाल अभिनेता आफ्ना सन्तान सुहाना र आर्यनको डेब्यु प्रोजेक्टमा काम गरिरहेका छन् । शाहरुख र सुहाना फिल्म ‘किंग’मा सँगै देखिनेछन् ।
शाहरुखले यसअघि पनि सन २०१४ मा एक माइनर आई सर्जरी गराएका थिए । सर्जरीपछि उनले आफ्नो एक्स ह्याण्डलमा एक नोट साझा गर्दै डाक्टरहरुलाई धन्यवाद दिएका थिए ।