२८ साउन, विराटनगर ।
फ्रान्सको राजधानी पेरिसमा सम्पन्न ३३औं संस्करणको पेरिस ओलम्पिक सम्पन्न भएको छ । जहाँ अमेरिका पदक विजेताका रुपमा पहिलो स्थानमा छ भने चीन दोस्रो स्थानमा समिति बनेको छ ।
नेपाल भने यसपटक पनि खाली हात स्वदेश फर्किएको छ । देश–विदेशमा हुने खेलकुदका प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनबाहेक पनि दलबल बोकेर हिँड्ने नेपालको पुरानै चलन हो ।
सदाझैं यसपटक पनि ओलम्पिकमा नेपालको छनक यस्तै देखियो । पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीभन्दा अफिसियलको संख्या धेरै थियो । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले खेलाडीसहित २९ जना पदाधिकारीलाई आधिकारिक रूपमै ओलम्पिकमा सहभागी गराएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयले सात खेलाडी र पाँच प्रशिक्षकसहित १४ जनाको मात्रै खर्च राज्यले व्यहोर्ने भनिरहँदा पनि एक दर्जन पदाधिकारी पेरिस पुगेका थिए ।खेलकुदलाई चलायमान बनाउनेगरी बजेट पनि नराख्ने, विजेता खेलाडीलाई पुरस्कार दिनै नखोज्ने तर प्रतियोगितामा नचाहिने ढर्रा देखाउने नेपाली खेलजगतको उपलब्धि शून्य छ भन्ने कुरा पेरिस ओलम्पिकले छर्लंगै देखाएको छ । किनकि, पेरिस ओलम्पिकमा सहभागी दुई सय तीन मुलुकमध्ये ८४ देशहरूले केही न केही पदक हासिल गरेका छन् ।
तर, नेपालसहित एक सय १९ देशका खेलाडीहरू पदकविहीन बन्नुपरेको छ । यतिसम्म कि, ओलम्पिकमा नेपालसँग समान प्रतिनिधित्व गरेको दक्षिण अफ्रिकी राष्ट्र जाम्बियाले पनि एउटा पदक जितेर पदकतालिमा आफूलाई उभ्याएको छ ।
सन् १९६४ मा एकसाथ ओलम्पिकमा डेब्यु गरेर समान १५औं पटक ओलम्पिकमा सहभागिता जनाएको भए पनि नेपाललाई जाम्बियाले उछिनेको हो । नेपालका सात खेलाडीले प्रतियोगितामा कुनै पनि ‘मेडल’ हात पार्न सकेनन् ।
पेरिस ओलम्पिकमा नेपालबाट पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्री–स्टाइलमा राष्ट्रिय रेकर्ड बनाए । त्यै पनि उनीसहित अरू खेलाडी पहिलो चरणबाट नै बाहिरिए । टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र सुटिङकी सुष्मिता नेपाल पहिलो चरणबाट बाहिरिए भने महिला म्याराथनमा सन्तोषी श्रेष्ठ ७९औं स्थानमा सीमित बनिन् ।
९२ धाविकाले प्रतिस्पर्धा गरेको महिला म्याराथन सन्तोषीले २ घण्टा ५५ मिनेट ६ सकेन्डमा पूरा गरिन् । राष्ट्रिय कीर्तिमान बनाएका एलेक्जेन्डर हिट चरणभन्दा अगाडि बढ्न सकेनन् । समग्रमा ७९ प्रतिस्पर्धीमा एलेक्जेन्डर ५९औँ स्थानमा रहे ।
छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाएका टेबुलटेनिसका स्यान्टुले लगातार तीनै खेल गुमाए । स्यान्टु तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टपछि छनोट चरण पार गरी ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी पनि हुन् ।
पहिलोपटक ओलम्पिक खेलेकी जुडोकी मनिता एक मिनेट मात्र म्याटमा टिकिन् । महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुटिङकी सुस्मिता उक्त विधामा ४२औं स्थानमा रहिन् । वाइल्ड कार्ड पाएर पहिलोपटक ओलम्पिकमा सहभागी भएकी उनी पहिलो चरणबाट बाहिरिन् ।
पाँच वर्षअघि जुनियर ब्याडमिन्टनतर्फ एक नम्बर स्थान बनाएका प्रिन्सको पनि पेरिस ओलम्पिक बिर्सनलायक बन्यो । प्रिन्सले आफ्नो पहिलो ओलम्पिक यात्रा सुखद बनाउन सकेनन् ।
खेलको अघिल्लो दिन नै घाइते भएकी पौडीबाज डुवाना पुछारमा सीमित बनिन् । उनले फ्रिस्टायलको हिट चरण पार गर्न सकिनन् ।
हुन त, समर होस् वा विन्टर ओलम्पिक । यसअघिका कुनै पनि ओलम्पिकमा नेपालले पदक हासिल गर्न सकेको छैन । सन् १९८८ को सोल ओलम्पिकमा नेपालका विधान लामाले पदक जितेका थिए । तर त्यो बेला तेक्वान्दो प्रदर्शनी खेल मात्र भएकोले उनको पदकले मान्यता पाएन ।
हालसम्म १५औं पटक ओलम्पिकमा सहभागिता जनाएको नेपालको मेडल विवरण शून्य छ । ओलम्पिकमा चारपटक दौडिएका धावक, बैकुण्ठ मानन्धर, हरिबहादुर रोकायालगायत चिरपरिचित नामहरूले पनि ओलम्पिकमा ‘मेडल’ जित्न सकेका छैनन् । नयाँ खेलाडीमा पनि भरपुर तयारीको आवश्यकता देखिएको छ ।
हालसम्मको ओलम्पिकमा नेपाल पनि सहभागी छ भन्नेबाहेक उल्लेखनीय उपलब्धि हासिल गर्नबाट चुकेको छ, नेपाल । यसले के देखाउँछ भने नेपालको हैसियत ओलम्पिकमा पदक जित्नलायक होइन, सहभागिता जनाउनलायक मात्रै छ ।
खेलकुदमा बजेट बढाउन आलस्य गर्ने सरकार र प्रतियोगितालाई विदेश भ्रमण गर्ने अवसरका रूपमा देख्ने खेल पदाधिकारीका कारण नेपालको खेलक्षेत्रले अपेक्षाजनक उपलब्धि हासिल गर्न सकेको छैन ।
ओलम्पिकमा कसले कति खेल खेले भन्नेबारे यकिन तथ्यांक राख्न नसकेको ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बरु कहिलेकाँही ओलम्पिकमा सहभागी भएका विदेशी तथा नेपाली खेलाडीको ‘जमघट’ गराउने गरेको छ ।
यसै वर्षको वैशाखमा एनओसी र राखेपले संयुक्त रूपमा खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ३५ लाख रुपैयाँ खर्चिएर ‘ओलम्पियन रि–युनियन’ को आयोजना गरेको थियो । तर, यसको उपलब्धि पनि शून्यप्रायः नै छ ।