Nepal Times
Nepal Times
3
Shares

लिग टुमा अमेरिकाको विजयी सुरुआत

लिग टुमा अमेरिकाको विजयी सुरुआत

३० साउन ,एजेन्सी ।

अमेरिकाले आईसीसी विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ । विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेलेको अमेरिकाले जितका साथ सुरुआत गरेको हो । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो ।

नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा भएको खेलमा अमेरिकाले क्यानडामाथि १४ रनको जित हात पारेको हो । अमेरिकाले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनायो ।

क्यानडाका लागि हर्ष ठाकरले सर्वाधिक ७७ रन जोडे । उनले ७७ बलमा ६ चौका र १ छक्का प्रहार गरे । ओपनर आरोन जोनसनले ४१ बलमा ५५, डेलिन हेलिङ्गरले ६५ बलमा ५६ ,प्रगत सिंहले ५१ बलमा ४२, कप्तान निकोलस किर्तनले १७ बलमा १४ र कलिम सानाले अविजित १० रन जोडे ।

अमेरिकाका लागि नोस्तुश केन्जिगेले ३, शाल्डि भान साक्वय र जसदिप सिंहले समान २ तथा स्टेभन टेलर र हरमित सिंहले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन जोडेको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले अविजित रुपमा १ सय २१ रनको शतकीय पाली खेलेका थिए। उनले ९५ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए । ओपनर स्मिथ पटेलले ८३ बलमा ६३, शयान जाहान्गिरले ४७ बलमा ५७ रन जोडे ।

स्टेभन टेलरले २७ र आरोन जोन्सले १५ रन जोडे । क्यानडाका लागि प्रगत सिंह, साद विन जाफर, हर्ष ठाकर र डिलोन हेलिङ्गरले समान १ विकेट लिए । जितसँगै ८ टोली सहभागी लिग टु मा २ अंकका साथ अमेरिका छैटौं स्थानमा छ ।

पहिलो राउन्डको सिरिजमा शतप्रतिशत जित निकालेको क्यानडा लगातार दोस्रो हार सहित ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपाल २ अंकका साथ सातौं स्थानमा रहेको छ । शीर्ष चार टोलीले ओडिआई विश्वकप छनोटमा स्थान पक्का गर्ने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.