३० साउन, विराटनगर । विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका बुद्धिराज न्यौपाने जनमत पार्टीका केन्द्रीय सदस्य रहेको खुलेको छ ।
झापाको कमल गाउँपालिका-१ का ५४ वर्षीय न्यौपाने जनमत पार्टीको केन्द्रीय प्रशासन विभाग प्रमुखसमेत रहेको खुलेको हो ।
वैदेशिक रोजगारीका लागि मौरिससमा आकर्षक तलब र ग्रीनकार्डसमेत पाइने प्रलोभन देखाएर मानव बेचबिखनमा गरेको आरोपमा उनी सोमबार पक्राउ परेका थिए ।
मानब बेचबिखन अनुसन्धान ब्युरोले उनलाई काठमाडौं महानगरपालिका-७ गौरीघाटबाट पक्राउ गरेको हो ।
मानब बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार न्यौपानेलाई सोमबारै काठमाडौं जिल्ला अदालतमा पेस गरिएकोमा सोमबार नै पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान थालिएको छ ।एक महिलालाई मासिक ७० हजार कमाइ हुने र ग्रिनकार्डसमेत पाइने भन्दै मौरिसियस पुर्याएका थिए । आर्थिक अवस्था कमजोर भएकी ती महिलाबाट मौरिसस पुग्नका लागि भन्दै दुई लाख ५० हजार लिएका थिए । न्यौपानेले ती महिलालाई कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए ।
सुरुमा उनले गत माघमा मौरिसस पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेर पीडित महिलालाई मोरिसस लेखिएको क्याप टोपी लगाउन लगाई फोटो खिचेका थिए ।
पहिचानका लागि मौरिससमा रहेका उनका साथीलाई त्यो तस्बिर पठाए । त्यसपछि उनले गत माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मैरिसस पुर्याएका थिए ।
त्यही टोपीका आधारमा पहिचान गरी मौरिससस्थित विमानस्थलमा उनका साथीले पीडितलाई ‘रिसिभ’ गरी मौरिसियन नागरिकलाई जिम्मा लगाएका थिए ।
मौरिससका नागरिकले अभियुक्त न्यौपानेबाट उपहारस्वरूप खरिद गरी ल्याएको भनी दैनिक १७-१८ घण्टा घरको काम लगाई समयमा खाना खान र तलबसमेत नदिई चरम श्रम शोषण तथा यौनशोषण गरेको पीडित महिलाले ब्युरोमा बयान दिएकी छन् ।
पीडित महिलाले नेपाल फर्काउन अनुरोध गर्दा अभियुक्तले घर मालिकले भने बमोजिम गर्न भनी डर-धम्कीसमेत दिएपछि काम गरेको ठाउँबाट रातिको समयमा भागेर उनी पोर्चुगलमा रहेका नेपाली नागरिकको सहयोगमा गत असार ३० गते नेपाल फर्कन सफल भएकी थिइन् ।
मौरिसियसमा लामो यातनापछि पीडित भागेर नेपालीहरूकै सहयोगमा घर फिर्ता हुन सफल भएकी थिइन् ।
नेपाल फर्किएपछि उनले प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरीका आधारमा न्यौपानेलाई पक्राउ गरिएको एसपी गौतमको भनाइ छ ।