७ भदौ, विराटनगर ।
घरेलु टोली नेपालले काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भुटानसँग खेल्नुपर्ने भएको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा भारतले माल्दिभ्सलाई हराएर समूह ‘बी’ को विजेता बनेसँगै नेपालले भुटानलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो ।
दुवै खेल हारेको माल्दिभ्स बाहिरिएसँगै समूह उपविजेता बनेको भुटानले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता नेपालसँग खेल्नुपर्ने भएको हो ।
यता, समूह विजेता भारतले भने समूह ‘ए’ को उपविजेता बंगलादेशसँग फाइनलका लागि खेल्ने छ ।समूह ‘ए’ बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । नेपाल आफ्ना दुवै खेल जितेर यस समूहको विजेता बनेको छ भने बंगलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको हो ।
आज समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध १–० को जित निकाल्दा भारतलाई जित दिलाउन मांग्लेनथान किप्गेन नायक बने ।
माल्दिभ्सले खेलको इन्जुरीसम्मै जब्बर रक्षापंक्ती बनाए पनि किप्गेनले अन्तिम मिनेटमा गोल गर्दै भारतको जित सुनिश्चित गरे । उनले पाँच मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरे ।
अब, आजको खेल पछि सेमिफाइनलको समीकरण पूरा हुने छ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुने छ ।