८ भदौ, विराटनगर ।
शुक्रबार बिहान तनहुँको आबुखैरेनी गाउँपालिकामा भएको बस दुर्घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता प्रकट गरेका छन् ।
प्रधानमन्त्री मोदीले नेपालको तनहुँ जिल्लाको सवारी दुर्घटनामा दु:ख व्यक्त गर्दै सबै शोकाकुल परिवारलाई समवेदना दिएका छन् । उनले सबै सुविधा नेपालमा भएको भारतीय दूतावासबाट हुने पनि जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘नेपालको तनहुँ जिल्लामा भएको सडक दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख प्रकट गर्दछु । शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दछु । घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना छ । प्रभावितलाई भारतीय दूतावासले सम्भावित सुविधा उपलब्ध गराउने छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पर्यटक बोकेर पोखराबाट काठमाडौं आउने क्रममा तनहुँमा दुर्घटना भएकोमा चिन्ता व्यक्त गरेका छन् । ओलीले सामाजिक सन्जालबाट दुर्घटनाबाट ज्यान गुमाएका भारतीय परिवार तथा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समवेदना दिएका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन, ‘भारतीय नागरिकहरुले यात्रा गरिरहेको बस पोखराबाट काठमाडौं आउने क्रममा आबु खैरेनीमा दुर्घटना हुँदा २७ जना भारतीय नागरिकको ज्यान गएको घटनाले अत्यन्त दुःखी छु । ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी लगायत परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’
शुक्रबार बिहान पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा हिजो बिहान भारतीय पर्यटक सवार बस दुर्घटना भएको थियो ।
४४ जना सवार युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । जसमा १९ जना घाइते भएकामध्ये १६ जनाको महराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइते तीन जनालाई काठमाडौंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ ।
यसबीचमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे काठमाडौं आइपुगेकी छन् । प्रधानमन्त्री मोदीको निर्देशनमा खडसे शनिबार बिहान काठमाडौं आइपुगेकी हुन् ।
शुक्रबार बिहान तनहुँको आबुखैरेनी गाउँपालिकामा भएको बस दुर्घटनाका घाइतेहरूलाई भेट्न उनी महाराष्ट्र जलगांवका एकजना विधायकलाई साथ लिएर काठमाडौं आइपुगेकी हुन् । काडमाडौंमा अवतरण भएसँगै उनी घाइतेहरूलाई भेट्न महराजगन्जस्थित टिचिङ अस्पताल जाँदै छिन् ।