मुना पाण्डेको हत्यामा संलग्न ब्यक्ति पक्राउ

मुना पाण्डेको हत्यामा संलग्न ब्यक्ति पक्राउ

१३ भदौ , एजेन्सी ।

अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने संदिग्ध पुरुष पक्राउ परेका छन् । अमेरिकामा २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा त्यहाँको प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

ह्युस्टन प्रहरीले ती संदिग्धलाई आज ट्राफिक जामको समयमा पक्राउ गरेको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने अखबार नेप्योर्कले उल्लेख गरेको छ। बुधबारनै प्रहरीले मुना मृत भेटिएको घरबाट शनिबार एक संदिग्ध बाहिरिँदै गरेको तस्बिर सार्वजनिक गरेको थियो।

प्रहरीले संदिग्धलाई देखे खबर गर्नका लागि मानिसहरूलाई अपील गरेको थियो।ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएपछि स्थानीयले नै प्रहरीलाई खबर गरेको थियो। प्रहरीले त्यसपछि तत्काल ती संदिग्धलाई पक्राउ गरेको हो। प्रहरीले उनको पक्राउबारे अरू विषय खुलाएको छैन।

आरोपीमाथि अनुसन्धान भइरहेका कारण प्रहरीले थप विषय खुलाएको छैन। उनीविरूद्ध कुनै अभियोग पनि दर्ता नभएको प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ। हत्याको कारण र उद्धेश्य खुलेपछि प्रहरीले पक्राउ परेका व्यक्तमाथि मुद्दा चलाउने बताएको छ।

ह्युस्टन प्रहरीले शनिबार पश्चिम ब्युलवार्ड एयरपोर्ट नजिक रहेको मुनाको अपार्टमेन्टबाट एक प्रौढ उमेरका पुरूष बाहिरिँदै गरेको सिसीटिभी फुटेज सार्वजनिक गरेको थियो। यसअघि मुनाकै प्रेमीले उनको हत्या गरेको आकलन गरिएको थियो।

सिसीटिभी फुटेज सार्वजनिक भएपछि मुनाको हत्या प्रेमीले नगरेको खुलेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको छ। मुना भोजपुरकी हुन्। उनलाई आमाले मात्रै हुर्काएकी थिइन्।

आमा अनिता पाण्डे अधिकारी काठमाडौंमा छिन्। उनी एक्लैले दुःख संघर्ष गरेर छोरीलाई पढाएर थप अध्ययनका लागि सन् २०२१ मा अमेरिका पठाएकी थिइन्। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन्।

उनीमाथि पटकपटक गोली प्रहार भएको प्रहरीले बताएको छ।उनको शव पोस्टमर्टम गरी थप अनुसन्धान अगाडि बढाउने त्यहाँको प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.