१६ भदौ, विराटनगर ।
नयाँ सिजनको स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार चौथो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि ७-० गोलान्तरको फराकिलो जित निकालेको हो ।
यसअघि उसले रायो भालेकानो, एट्लेटिक बिल्बाओ र भ्यालेन्सियालाई हराएको थियो । लगातारको चौथो जितसँगै बार्सिलोना १२ अंकसहित शीर्ष स्थानमा छ ।
पराजित भाडाडोलिडको समान खेलबाट चार अंक रहेको छ । भाडाडोलिड अंक तालिकाको १२औं स्थानमा छ ।
गए राति बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गोल गर्दा रोबर्ट लेवान्डोस्की, डानी ओल्मो, फेरान टोरेस र जुल्स कोन्डेले एक-एक गोल गरे ।
राफिन्हाले २०औं मिनेटमै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा कोन्डेले गोल गर्दै अग्रता ३-० मा पुर्याए । ६४औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे ।
७२औं मिनेटमा राफिन्हाले ह्याट्रिक पूरा गरे । निर्धारित खेल सकिन आठ मिनेट बाँकी रहँदा ओल्मोले अर्को गोल थपे । त्यसको तीन मिनेटपछि नै राफिन्हाको पासमा टोरेसले नै गोल गर्दै बार्सिलोनालाई ७-० को फराकिलो जित दिलाए ।