१९ भदौ, विराटनगर ।
फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस पारा ओलम्पिक खेलकुद-२०२४ मा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनलाई एनसेलले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । कास्यपदक जितेकी २१ वर्षीय पलेशासहित पाराओलम्पिकमा सहभागी तीनै खेलाडी र प्रशिक्षकलाई एनसेलले पुरस्कृत गर्ने भएको हो ।
पदक विजेता पलेशालाई एनसेलले १० लाख दिने छ भने अरू खेलाडी तथा प्रशिक्षकलाई पनि थप कुल १० लाख पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी), नेपालसँग भइरहेको आफ्नो सहकार्य अनुरूप सम्मानको घोषणा गरेको जनाएका छन् ।
पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । उनीसँगै गएका दुई खेलाडी भने पहिलो चरणबाट बाहिरिएका थिए । पौडीका भीमबहादुर कुमाल र तेक्वान्दोका भरतसिंह महरा पहिलो चरणबाटै बाहरिएका थिए ।